अपार खुसीमा इक्वेडर

विश्वकपको कमजोर टिम ठानिएको इक्वेडरले प्रशिक्षक बेक्कासिसको प्रेरणामा जर्मनीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेको छ, अब क्वाटरफाइनलको सपना देख्दै।

असार १३, २०८३

एपी

Ecuador in immense joy

What you should know

इस्ट रदरफोर्ड — इक्वडेरका प्रशिक्षक सेबास्टियन बेक्कासिसको सुनौला रंगको कपाल लामै छ । त्यसैलाई फरफराउँदै इक्वडेरको ऐतिहासिक जितपछि उनले दर्शकदीर्घातिर फर्केर आफ्नी पत्नी र परिवारसँग खुसी साटे । उनको नजिकका केही इक्वडेर समर्थकले पिठ्युँमा थपथपाए । त्यही बेला दसौं हजारका इक्वडेर समर्थक खुसीमा झुमिरहेका थिए ।

गोन्जालो प्लाटाले शुक्रबारको खेलमा शक्तिशाली टोली जर्मनीविरुद्ध गोल गरेपछि इक्वडेर र यसका प्रशिक्षकले अत्यधिक राहत महसुस गरेको थियो । अन्ततः त्यही निर्णायक गोल साबित भयो । प्रतियोगिता सुरु हुन अगाडि सबैभन्दा कमजोर टिममा इक्वेडरको पनि नाम थियो । धेरैको अनुमान के थियो भने यसपल्टको विश्वकपमा इक्वडेरको प्रदर्शन बिर्सनलायक रहनेछ । 

अब जतिबेला इक्वडेर विश्वकपको नकआउट चरणमा प्रवेश गरिसकेको छ । तिनै प्रशिक्षक बेक्कासिस मान्छन्, अहिलेको समय टिमको समर्थनमा सबैले खुसीयाली मनाउने बेला हो । उनी भन्छन्, ‘कहिलेकाहीं हारमा असाध्यै पीडा हुन्छ अनि कहिलेकाहीं जितमा असाध्यै धेरै खुसी मिल्छ । आजको जित यस्तै रह्यो, असाध्यै धेरै खुसी मिलेको छ । त्यसैले सक्दो बढी रमाऔं ।’

जर्मनीको सामना गर्नु अगाडि इक्वडेरको स्थिति राम्रो थिएन । इक्वेडरसामु प्रतियोगिताबाट बाहिरिएर घर जाने डर थियो । हारको स्थितिमा टिम निश्चित रूपमा नै बाहिरिने अवस्था थियो । यस्तै डरबीच जर्मनीले लेरोय सानेको गोलबाट दोस्रो मिनेटमै अग्रता लियो । तर यो लामो समय टिकेन, नवौं मिनेटमा इक्वेडरका निल्सन एङ्गुलोले बराबरी गोल फर्काए । 

प्लाटाको गोल भने ७७ औं मिनेटमा सम्भव भएको थियो । अब त इक्वडेर यस विश्वकपमा आफ्नो सम्भावनालाई लिएर अझ धेरै आत्मविश्वासी बनेको छ । बेक्कासिसको नजर त अब क्वाटरफाइनलतर्फ छ । उनी भन्छन्, ‘अहिलेसम्म इक्वडेरले विश्वकपको क्वाटरफाइनल खेलेको छैन । अब सक्छौं कि सक्दैनौं ? तर हामीले यसका लागि कडा मिहिनेत गर्नेछौं । मलाई पूरा विश्वास छ, यो सम्भव छ र यो टिम यसका लागि हकदार पनि छ ।’

चारपल्टको विश्वकप च्याम्पियन जर्मनीलाई हराउने इक्वेडर दक्षिण अमेरिकाको तेस्रो देश पनि भएको छ । विश्वकपमा जर्मनीलाई हराउने दुई टिम भनेकै ब्राजिल र अर्जेन्टिना थिए । त्यो पनि फाइनलजस्तो ठूलो अवसरमा । त्यसैले इक्वेडरको अहिलेको जर्मनीमाथिको जितको धेरै अर्थमा ऐतिहासिक रहनेछ ।

विश्वकप २०२६

एपी

Link copied successfully