काठमाडौं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
काठमाडौँ — काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबार काठमाडौं–१५, डल्लु आवासस्थित एनओसी भूकम्प स्मृति कभर्डहल सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको सामाजिक विकास समितिका संयोजक रामकुमार केसी, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले उद्घाटन गरेका थिए ।
संयोजक केसीले काठमाडौं महानगर कप केवल खेलकुद प्रतियोगिता नभई समुदायलाई खेलमार्फत जोड्ने, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने तथा स्थानीय तहबाट खेल प्रतिभाको पहिचान र विकास गर्ने महानगरीय अभियान भएको बताए । सहआयोजक काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दीपक थापाले काठमाडौं महानगर कपलाई काठमाडौंका वडाबीच खेलमार्फत एकता, सहभागिता र प्रतिभा विकास गर्ने दीर्घकालीन अभियानको सुरुआत भएको बताए ।
काठमाडौं महानगरका ३२ वडामध्ये २४ वडाको सहभागिता रहेको प्रतियोगितामा पुरुष एकल, महिला एकल तथा मिश्रित युगल गरी तीन खुला विधामा प्रतिस्पर्धा हुनेछ ।
कुल पुरस्कार राशि २ लाख ८२ हजार रहेको प्रतियोगितामा पुरुष तथा महिला एकलतर्फ विजेता खेलाडीले ३२ हजार, दोस्रोले २० हजार, तेस्रो हुने दुई खेलाडीले जनही १० हजार पाउनेछन् ।
पााचौंदेखि आठौं स्थानसम्मका प्रत्येक खेलाडीले जनही २ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् । मिश्रित युगलतर्फ विजेता जोडीले ४० हजार, उपविजेता जोडीले ३० हजार, तेस्रो हुने दुई जोडीले समान १६ हजार पाउनेछन् ।
पहिलो दिन पुरुष एकल र महिला एकल विधाका लिग चरणका खेलहरू भएका छन् ।
