कप्तान रुबिना क्षेत्रीको अविजित ३१ रन र उत्कृष्ट बलिङले कोशीलाई फाइनलमा पुर्यायो, अब उपाधिका लागि एपीएफसँग प्रतिस्पर्धा हुनेछ।
पर्सा — नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आइतबार वीरगन्जमा विभागीय टोली एपीएफ क्लब र कोशी प्रदेश आमनेसामने हुने भएका छन्।
शुक्रबार वीरगन्जमा भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेशले बागमती प्रदेशलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। वर्षाको कारण भिजेको खेलमैदानमा ढिलो गरी खेल सुरु भएपछि १०–१० ओभरमा खेल छोट्याइएको थियो ।
कोशीले १ विकेटको क्षतिमा ७२ रन बनाएको थियो।कोशीको जितमा कप्तान रुबिना क्षेत्रीले २२ बलमा अविजित ३१ रन र काजोल श्रेष्ठले २७ बलमा अविजित २९ रनको योगदान दिइन्। बागमतीकी कन्चन श्रेष्ठले १ विकेट लिइन्।
जवाफमा बागमती ६ विकेट गुमाउँदै ६४ रनमा सीमित रह्यो। उसका लागि अस्मिना कर्माचार्यले २० बलमा अविजित १७ र लक्ष्मी माया रुम्बा लामाले ९ बलमा १४ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।
कोशीका बलहरुमा रुबिना क्षेत्रीले २ तथा अलिशा खडियाले १ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेकी रुबिना क्षेत्री ‘प्लेयर अफ द म्याच’ घोषित भइन्।
