क्रिकेटको लोकप्रियतासँग अलिकति सेलाएको फुटबलप्रति बंगलादेशको माया विश्वकपकै बेला चरम उत्कृर्ष पुगेको छ । अहिले राजधानी ढाकामा जताततै जाँदा पनि विश्वकपको सनसनी महसुस गर्न सकिन्छ ।
What you should know
काठमाडौँ — विश्वकप २०२६ चलिरहँदा बंगलादेशको ढाका विश्वविद्यालयको एउटा दृष्यले सबैको ध्यान खिचेको छ । त्यसमा अर्जेन्टिनाको खेल हेर्न उपस्थित हजारौं समर्थक लियानेल मेसीको नाम लिएर नारा लगाइरहेका छन् । अमेरिका, क्यानाडा र मेक्सिकोमा भइरहेको विश्वकपमा पूरा विश्व रमाइरहेको बेला बंगलादेशमा यसको रौनकता अझ बढी उच्च रहेको छ ।
सम्भवतः विश्वकप सहभागी भएका देशलाई छोडेर यो प्रतियोगितामा कोही बढी रमाइरहेको भने त्यो बंगलादेश रहेको छ । त्यहाँ फुटबल अझै पनि सबैभन्दा बढी मन पराइएको खेल मानिन्छ। क्रिकेटको लोकप्रियतासँग अलिकति सेलाएको फुटबलप्रति बंगलादेशको माया विश्वकपकै बेला चरम उत्कृर्ष पुगेको छ । अहिले राजधानी ढाकामा जताततै जाँदा पनि विश्वकपको सनसनी महसुस गर्न सकिन्छ ।
‘अहिले पूरा बंगालदेश फुटबलमय भएको छ, विश्वकपले गर्दा । पछिल्ला दशकमा बंगलादेशमा फुटबलको लोकप्रियता केही कम भएको महसुस गरिएको थियो । तर अहिले यही खेलले लोकप्रियताको मामिलामा बलियो पुनरागमन गरेको छ,’ बंगलादेशी खेल पत्रकार अराफात जुबेरले भने, ‘पुरुष र महिला राष्ट्रिय टिमको पछिल्लो सफलताले पनि यो खेललाई लोकप्रिता अझ बढेको हो ।’
बेलायती उपनिवेशकै बेला बंगलादेशमा फुटबलले प्रवेश पाइसकेको थियो र पछि यो खेल बंगलादेशी समाजकै एउटा भागका रूपमा रहँदै आएको मानिन्छ । सन् ८० को दशकतिर बंगलादेशमा टेलिभिजनको माध्यमबाट विश्वकप सबैको घर घरमा पुगेको थियो । सन् १९८६ मा डिएगो म्याराडोना र अर्जेन्टिनाले विश्वकप जितेपछि त्यसको गहिरो छाप परेको थियो ।
त्यसैले अझै पनि बंगलादेशमा सबैभन्दा बढी कुनै एक देशको समर्थक बढी छन् भने त्यो अर्जेन्टिना रहेको छ । त्यसपछि ब्राजिलका समर्थक पनि उत्तिकै रहेका छन् । पत्रकार जुबेरका अनुसार बंगलादेशमा लोकप्रिय दुई टिम यिनै अर्जेन्टिना र ब्राजिल हुन् । विशेषतः सामाजिक सञ्जालमा यी दुई देशका समर्थकबीच तनावपूर्ण विवाद समेत चल्ने गरेको छ ।
यस्तै व्यक्तिगत रूपमा मेसीसँगैसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि लोकप्रिय छन् । ढाकाका घर घर र गल्ली गल्लीमा अर्जेन्टिना र ब्राजिलका झण्डा झुन्डाइएको जताततै देख्न पाइन्छ । यस पल्ट विश्वकप बंगलादेशी समय अनुसार पनि मध्यरात र बिहान भइरहेको हुँदा पनि त्यसले फुटबल समर्थकको उत्साह कम भएको छैन।
अहिले बंगलादेशी मिडियाले पनि विश्वकपलाई विशेष स्थान दिइरहेको छ र धेरै भन्दा धेरै समाचार दिइरहेको छ । मेसीको जन्मदिन पारेर बंगलादेशका केही पत्रिकाले आफ्ना केही पाना तिनै खेलाडीमा केन्द्रित भएर पनि समाचार छापेका थिए । बंगलादेशी मिडियामा फुटबलका समाचार सबैभन्दा बढी लोकप्रिय हुने गरेको छ ।
सन् १८०० को दशकमै अहिलेको पंश्चिम बंगालमा फुटबल भित्रिसकेको थियो । यसको प्रभाव तात्कालीन पूरा बंगालमा परेको थियो र त्यो बंगलादेशको जन्मपछि पनि कायम रह्यो । सन् पचासको दशकमा ढाकामा प्रतिष्ठित आगा खां गोल्डकपका आयोजना हुने गर्थ्यो र यसमा त्यो समयकै चर्चित टिमहरूले भाग लिने गरेका थिए ।
नेपालले यही प्रतियोगिताको सन् १९६३ को संस्करणमा भाग लिएको थियो र यो नै औपचारिक रूपमा नेपाली राष्ट्रिय टिमले भाग लिएको पहिलो ऐतिहासिक प्रतियोगिता हो । नेपालले यही प्रतियोगितामा बंगलादेश स्वतन्त्र हुन दुई वर्ष अगाडि पनि भाग लिएको थियो । त्यस नेपाली टिमका प्रशिक्षक पद्मकृष्ण श्रेष्ठका अनुसार पनि त्यही बेला ढाकामा फुटबल असाध्यै लोकप्रिय रहेको थियो ।
बंगलादेश भौतिक पूर्वाधारमा पनि त्यही बेला बलियो स्थितिमा थियो । सन् ८० को दशकमा नेपालका अधिकांश फुटबल खेलाडीले बंगलादेशमा व्यवसायिक फुटबल खेले । बंगलादेशमा नेपालका पूर्व राष्ट्रिय टिमका पूर्व कप्तान गणेश थापा अझै पनि लोकप्रिय रहेका छन् । उनको पुस्ताका अधिकांश खेलाडी बंगलादेशका विभिन्न क्लबबाट खेले ।
उनले बंगलादेशमा खेल्ने बेला फुटबल लोकप्रियताको उच्चतमा विन्दुवमा रहेको थियो । यस्तै अर्को पूर्व कप्तान राजु शाक्यले पनि बंगलादेशमा फुटबल अत्याधिक लोकप्रिय रहेको बेला खेलेका थिए । उनी भन्छन्, ‘हामी खेल्दा बंगलादेशी फुटबल समर्थक यो खेलका लागि मरिमेट्थे ।’ विदेशमा रहेको बंगलादेशी मूलका खेलाडीले बंगलादेशकै लागि खेल्न थालेपछि पुरुष टिमको नतिजा पनि राम्रो आउन थालेको छ ।
बंगालदेशको महिला टिमले पनि दुई पल्ट वुमेन्स साफ च्याम्पिनसिप जितेको छ । महिला टिम पछिल्लो वुमेन्स एसियाकपमा समेत छनोट भएर ऐतिहासिक उपलब्धी हात पारेको थियो । अबको पुरुष साफ च्याम्पियनसिप बंगलादेशमै हुन लागेको छ र आयोजक स्थलका रूपमा ढाकाको चयन त्यहाँ फेरि बढ्न थालेको फुटलबको लोकप्रियता नै मानिएको छ ।
