विश्वकप २०२६ मा बिहीबार समूह ‘ए’ का अन्तिम दुई खेल हुँदैछन् । त्यसमध्ये पहिलो खेलमा सह–आयोजक मेक्सिकोले चेक गणतन्त्रको सामना गर्नेछ ।
काठमाडौँ — विश्वकप २०२६ मा बिहीबार समूह ‘ए’ का अन्तिम दुई खेल हुँदैछन् । त्यसमध्ये पहिलो खेलमा सह–आयोजक मेक्सिकोले चेक गणतन्त्रको सामना गर्नेछ । आफ्नो अन्तिम खेल अगाडि नै लगातार दुई जितसहित मेक्सिको नकआउट चरण पुगिसकेको छ ।
दक्षिण कोरिया अर्को खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ । यसमा दक्षिण कोरियासामु जितसहित अर्को चरण पुग्ने चुनौती हुनेछ । चेक गणतन्त्र र दक्षिण अफ्रिकासामु पनि अर्को चरण प्रवेशको सम्भावना कायम रहेको छ र उनीहरू आफू अनुकुल नतिजा निकाल्ने प्रयासमा हुनेछन् ।
सबै टिमले दुई दुई खेल खेल्दा मेक्सिको छ अंकसहित शीर्ष स्थानमा छ र उसले समूह जित्ने पनि निश्चित भइसकेको छ । दक्षिण कोरिया भने तीन अंकमा दोस्रो स्थानमा रहेको छ । त्यसपछि चेक गणतन्त्र र दक्षिण अफ्रिका एक एक अंकमा अन्तिम दुई स्थानमा रहेका छन् ।
