शुक्रबारदेखि कोशी प्राइड लिग 

प्रतियोगितामा कुल १९ खेल हुनेछन् भने फाइनल खेल असार २३ गते हुनेछ ।

असार ११, २०८३

अर्जुन सुवेदी

Koshi Pride League from Friday

सुनसरी — विभिन्न कारणले तीन पटक मिति सरेको कोशी प्राइड लिग (केपीएल) क्रिकेट अन्ततः शुक्रबारदेखि सुरु हुने भएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित डा. खलिल अजाद खेल मैदानमा हुने तेस्रो संस्करणको प्रतियोगितामा भारतीय ३ सहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

केपीएल ग्रुपले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आमन्त्रित क्रिकेट प्रतियोगिताबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । आयोजकका अनुसार नेपालबाट इटहरी किंग्स, मिल्स क्रिकेट एण्ड एकेडेमी विराटनगर र छिन्नमस्ता क्रिकेट क्लब सप्तरीले सहभागिता जनाउनेछन् ।

भारतबाट आरएमएल स्पोर्टस् एकेडेमी दिल्ली, एचपीसीए स्पोर्टस् क्लब पटना र केसीसी क्रिकेट क्लब वीरपुर मैदान उत्रनेछन् । शुक्रबार उद्घाटन हुने प्रतियोगितामा कुल १९ खेल हुनेछन् भने फाइनल खेल असार २३ गते हुनेछ । 

प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै उपविजेताले १ लाख २५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) को तालिकासाग तालमेल नमिल्दा निर्धारित समयमा कोशी प्रिमियर लिग आयोजना गर्न नसकिएको केपीएल ग्रुपका अध्यक्ष अफजल हुसेनले जनाए ।

क्रिकेट गतिविधिलाई निरन्तरता दिन नेपाल–भारत २ देशीय आमन्त्रित टी–२० प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ । यसअघि जेठ ९ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिताको ट्रफी नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले अनावरण गरेका थिए । तर विभिन्न कारणले प्रतियोगिता  स्थगित हुँदै आएको थियो ।

अर्जुन

Link copied successfully