टिम, मालिक र लोगो गरियो अनावरण
काठमाडौँ — झन्डै दुई वर्षअघि नै पुरुषको एनभीएल हुने घोषणा गरिएको थियो । एनभीएल आयोजनाका लागि नेपाल भलिबल संघसँग केडिया ग्रुपले स्वामित्व लिएको थियो । तर, समय ग्रुजिएकाले एनभीएल आयोजना अनिश्चित बनेको थियो ।
अन्ततः नेपाल भलिबल लिग (एनभीएल) हुने भएको छ । बिहीबार आयोजकले ६ फ्रेन्चाइज टिम सार्वजनिक गरेपछि एनभीएल आयोजना हुने संघारमा पुगेको छ ।
झन्डै दुई वर्षअघि नै पुरुषको एनभीएल हुने घोषणा गरिएको थियो । एनभीएल आयोजनाका लागि नेपाल भलिबल संघसँग केडिया ग्रुपले स्वामित्व लिएको थियो । तर, समय ग्रुजिएकाले एनभीएल आयोजना अनिश्चित बनेको थियो ।
केडिया ग्रुपले एनभीएलमा प्रतिस्पर्धा गर्ने ६ फ्रेन्चाइज टिमको नाम, टिम मालिक र लोगो सार्वजनिक गरेको छ । राजधानीमा बिहीबार करातेकी कीर्तिमानी पदकधारी खेलाडी एरिका गुरुङको आतिथ्यतामा आयोजित कार्यक्रममा टिम अनावरण गरिएको हो ।
पहिलो संस्करणको एनभीएल प्रतिस्पर्धा गर्ने टिममा अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली शिवराज, काठमाडौं रेड्स, खप्तड फाल्कन्स, मधेश वारियर्स र सगरमाथा स्मासर्स रहेका छन् ।
अतिथिको रूपमा रहेकी एसियाड पदकधारी एरिकाले खेलका लिगहरू आयोजना हुनु एउटा खेलको मात्र नभई देशको समग्र खेलकुद विकासको रूपमा अर्थ्याइन् । उनले भनिन्, ‘म करातेकी खेलाडी हुँ । मलाई लाग्छ भलिबलको फ्रेन्चाइज लिग हुनु समग्र खेलकुद विकास हो । किनकि यस्ता लिगले धेरैलाई मोटिभेट गर्छ । सबै खेलाडीमा सकारात्मक उर्जा मिल्छ । त्यसले आयोजकलाई धन्यवाद भन्न चाहन्छु ।’
‘उचाइको नयाँ उडान’ नारा दिइएको एभीएलको मुख्य उद्देश्य नेपालको हरेक क्षेत्रमा खेलिने भलिबल खेललाई संगठित गर्दै व्यावसायिक मार्गमा अग्रसर गराउनु रहेको केडिया ग्रुपका अध्यक्ष विमल केडियाले बताए । नेपाली भलिबल लिगका लागि महत्त्वपूर्ण दिन रहेको उल्लेख गर्दै उनले यसका लागि हरेक भलिबलप्रेमीको प्रतीक्षाले सार्थकता पाएको बताए ।
अन्नपूर्ण स्पाइकर टिम सुमिरा स्पोर्ट्स भेन्चर्स प्रालिको स्वामित्वमा रहेको छ । गण्डकीलाई प्रतिनिधित्व गर्ने अन्नपूणको टिम मालिकमा मीना त्रिपाठी लिम्बू रहेकी छन् । उक्त टिममा सुबोध त्रिपाठी, राजवी त्रिपाठी र कर्ण थापा रहेका छन् । टिमका प्रतिनिधि कर्ण थापाले क्रिकेट र फुटबलमा हिँड्दाहिँड्दै भलिबलसँग जोडिन आइपुगेको बताउँदै अन्नपूर्ण हिमाल समेट्दै गण्डकीको सानलाई एनभीएलमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाए ।
कर्णाली शिवराजको स्वामित्व लक्सरा प्रालिले लिएको छ । यसका मालिकमा कृष्ण बिक, अशोक भट्ट, सन्तोष बिक रहेका छन् । टिममा पूर्व राष्ट्रिय खेलाडी ललिता नाथ, विजय बस्याल र विवेक विक्रम अधिकारी रहेका छन् । महिलाको फ्रेन्चाइज लिगमा यही टिमसँग कर्णाली यश्विसको स्वामित्व छ । कर्णालीका अशोक भट्टले कर्णाली विकेट भए पनि खेलकुदमा धेरै प्रतिभा जन्माएको स्मरण गराउँदै आफ्नो टिम शक्तिमा आधारित भएको चर्चा गरे ।
काठमाडौं रेड्सको क्वेस्ट स्पोर्टस म्यानजमेन्ट प्रालि रहेको छ । टिम मालिकमा उमेशलाल श्रेष्ठसहित सुविन श्रेष्ठ, उत्तमकुमार श्रेष्ठ, पृथ्वी राजभण्डारी र कुमार अनुराग रहेका छन् । टोलीको क्रिएटिभ हेडमा अशेष प्रधान छन् । सगरमाथा स्मासर्सको स्वामित्व सन्नी राजभण्डारी र बनी राजभण्डारीले लिएका छन् ।
त्यस्तै रंगकर्मीसँग आबद्ध व्यक्तिहरूले खप्तड फाल्कन्सको स्वामित्व लिएका छन् । त्यसमा राज शाह, सवराज भण्डारी, सञ्जिव उप्रेती, सिर्जना रेग्मी, पंकज शर्मालगायत छन् । खप्तडका मालिक राज शाहले भलिबल लिग फरक फरक क्षेत्रका व्यक्तित्वलाई जोड्ने सेतुको रूपमा पनि रहेको चर्चा गर्दै नेपाली भलिबलको सारथि बन्न पाउनुलाई एउटा गौरवको रुपमा लिएको बताए ।
अर्को फ्रेन्चाइज टोली मधेश वारियर्सको स्वामित्व कम्पास इन्टरटेनमेन्ट नेटवर्क प्रालिले लिएको छ । यसका मालिकमा सन्दीप साह र प्रनव महत रहेका छन् । सन्दीप शाहले भलिबलमा सकारात्मक योगदान गर्ने उद्देश्य राखेको आफ्नो टिमले मधेशका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा पुर्याउने बताए ।
भदौ दोस्रो सातासम्म एनभीएल भइसक्नुपर्नेछ । लिग त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमै हुनेछ । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले महिला र पुरुष दुवैको फ्रेन्चाइज लिग हुनु नेपाली भलिबलका लागि सुखद पक्ष भएको बताए । महिला फ्रेन्चाइज लिगले दुई संस्करण पूरा गरिसकेको छ । नेपालको राष्ट्रिय खेल भलिबलका लागि अन्तर्राष्ट्रिय स्तरको इन्डोर कभर्डहल आवश्यक रहेको र त्यसमा राज्यको ध्यान जानुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘पूर्वाधार भनेको राज्यले नै बनाइदिने हो, संघले समन्वयकारी भूमिका निर्वाह गरेर खेललाई गतिशील बनाउने हो । आफ्नै इन्डोर हल हुने हो भने नेपाली भलिबल उचाइ छुनेछ ।’
नेपाल भलिबल लिगका सीइओ सन्तोष उपाध्यायले लिगका बारेमा जानकारी दिँदै केडिया ग्रुपले भलिबलमा करियर देख्ने अवस्था सिर्जना गर्नु मुख्य उद्देश्य राखेको बताए । नेपाली भलिबलमा नयाँ अध्यायको अभियान सुरु भएको बताउँदै उनले भने, ‘खेलाडीका लागि नयाँ नयाँ अवसर सिर्जना गर्ने छौं ।’
नेपाल भलिबल लिगको लोगो पनि सार्वजनिक गरिएको थियो । लोगोले भलिबल खेल गतिशील रूपले विकास भइरहेको जनाउनुका साथै यसमा प्रयोग भएको रंगले राष्ट्रको झन्डा प्रतिनिधित्व गरेको छ भने एकता र गतिशीलताको भावनालाई सन्देशको रुपमा व्यक्त गरेको आयोजकले जनाएको छ ।
