अर्बौं डलर लगानी र ठूला स्टार खेलाडीका बाबजुद साउदी अरेबियाली राष्ट्रिय टिमले स्पेनसँगको ठूलो हारपछि विश्वस्तरमा सफल बन्ने चुनौती अझै टड्कारो छ।
What you should know
एटलान्टा — जतिबेला विश्वकपमा स्पेनले साउदी अरेबियामाथि ४–० को अग्रता लिएको थियो । त्यो पनि दोस्रो हाफको सुरुमै हो । बेञ्चमा रहेका स्ट्राइकर सलेह अल–सेहरी टाउकोमा हात हालेर झुकिरहेका थिए । जति बेला साउदी टिमले युरोपेली प्रतिद्वन्द्वीको सामना गर्ने गर्छ, यो टिम प्रायः ‘अन्डर डग’ रहने गर्छ । अप्रत्याशित नतिजाको सम्भावना कायमै हुन्छ ।
आखिरमा साउदी अरेबिया त्यही टिम हो, जसले चार वर्षअघि कतारमा अर्जेन्टिनामाथि जित निकालेको थियो । यता स्पेनी त्यही टिम थियो, जसले केप भार्डेविरुद्धको खेलमा निराशाजनक गोलरहित बराबरी खेलेको थियो । त्यो पनि ६ दिन अगाडि मात्रै त्यही एउटै रंगशालामा हो । तर यही स्पेन र साउदी अरेबियाबीचको खेलको कथा बेग्लै रह्यो ।
स्पेनले साउदी अरेबियामाथि २२ आक्रमण बुनेको थियो, जबकि साउदीले तीनमै चित्त बुझाउनुपरेको थियो । अहिले नै यो हार साउदी अरेबियाका लागि असाध्यै महँगो साबित त भएको छैन । केप भार्डेविरुद्ध लिग चरणको आफ्नो अन्तिम खेलमा जित निकाल्ने हो भने साउदी टिम अझै नकआउट चरण पुग्न सक्छ । तर स्पेनविरुद्धको हारले धेरै प्रश्न भने उठाएको छ ।
सन् २०३४ को विश्वकप साउदी अरेबियामा हुँदै छ । अनि यो देशले आफ्नो फुटबल स्तर बढोस् भनेर पछिल्लो समय करोडौं होइन, अर्बौं डलर खर्चेको छ । अहिलेको साउदी टिम लगभग त्यहाँकै प्रो लिगका खेलाडीले भरिएको छन् । यी खेलाडीले प्रत्येक साता भिड्ने भनेको क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र साडियो माने जस्ता खेलाडीविरुद्ध हो ।
पछिल्लो समय साउदी अरेबियाले फुटबलमा विदेशी खेलाडीमाथिको लगानी केही घटाएको छ । तर प्रशिक्षक जर्जियोस डोनिस मान्छन्, ठूला स्टार खेलाडीको उपस्थितिले साउदी फुटबल स्तर बढेको छ । यसले स्थानीय साउदी प्रतिभालाई अगाडि आउन सहयोग गरेको छ । तर राष्ट्रिय टिमलाई विश्वस्तरमा सफल बनाउन अझै समय लाग्नेछ अनि यो उत्तिकै चुनौतीपूर्ण पनि छ ।
उनी भन्छन्, ‘जति स्तरीय प्रतियोगिता हुनेछ, त्यति राम्रा खेलाडी उत्पादन हुन्छन् ।’ साउदी अरेबियाली मूलका खेलाडीले साउदी लिगमा खेल्ने अवसर कमै मात्र पाइरहेका छन् । जस्तो, गोलरक्षक मोहम्मद अल–ओवासिस । गत वर्ष मैदानमा बढी समय बिताउन उनले साउदी दोस्रो डिभिजनको क्लबसँग अनुबन्ध गर्नुपरेको थियो ।
साउदी टिममै पनि पछिल्ला दुई वर्षमा तीन प्रशिक्षकलाई जिम्मेवारी दिइएको छ । विश्वकप सुरु हुन दुई महिनाअगाडि मात्रै डोनिसलाई नियुक्त गरिएको थियो । अहिलेको विश्वकपमा उरुग्वेविरुद्ध साउदी अरेबियाको १–१ बराबरी सुखद जस्तै रह्यो । तर स्पेनविरुद्ध सुरुआती २५ मिनेटमै तीन गोल सामना गर्नुले साउदी टिममा रहेको कमजोरी प्रस्ट भएको थियो ।
डोनिसले त्यस नतिजाबारे भनेका थिए, एउटा असाध्यै बलियो टिमविरुद्ध उत्तिकै खराब नतिजा । केप भार्डेविरुद्धको खेललाई लिएर पनि प्रशिक्षक डोनिस उत्साही छन् र त्यसमा आफ्नो टिमले राम्रो प्रदर्शन गर्नेमा विश्वास देखाइरहेका छन् । उनी भन्छन्, ‘त्यो खेलमा हामीले पक्कै पनि लयमा देखिन्छौं र माथिल्लो स्तरको फुटबल खेल्नेछौं । हामीले प्रस्तुत गर्ने चुनौती बलियो रहनेछ ।’
