प्लेयर्स टु वाच : अचरफ हकिमी (मोरक्को)

हकिमी विश्वकपमा तेस्रो पटक खेलिरहेका छन् । उनले अफ्रिकी कप अफ नेसन्स चार पटक खेलेका छन् ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Players to watch: Achraf Hakimi (Morocco)

काठमाडौँ — अफ्रिकी टोलीलाई पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुर्‍याउने कप्तान हुन्, अचरफ हकिमी । चार वर्षअघि कतारमा मोरक्कोले स्पेनलाई अन्तिम १६ मा पेनाल्टी शुटआउटमा पराजित गर्दा २७ वर्षे हकिमीले ‘पानेन्का’ शैलीमा विजयी गोल गरेका थिए ।

त्यसपछि पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनल पुगेको थियो । हकिमी विश्वकपमा तेस्रो पटक खेलिरहेका छन् । उनले अफ्रिकी कप अफ नेसन्स चार पटक खेलेका छन् । २०२४ को पेरिस ओलम्पिक उनले ‘ओभर एज’ खेलाडीको रूपमा खेलेका थिए । हकिमीले फ्रान्सको राष्ट्रिय टोलीबाट ९८ खेल खेल्दै ११ गोल गरेका छन् । 

फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लगातार दुई पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जिताउँदाका उनी प्रमुख खेलाडी हुन् । सशक्त रूपमा राइट ब्याकको भूमिका निभाउने उनी आक्रामणमा पनि उत्तिकै सक्रिय हुन्छन् । स्पेनमा जन्मिएका उनले रियल म्याड्रिडको ‘बी’ टिमबाट खेल्न सुरु गरेका थिए । त्यसको अर्को वर्ष २०१७ मा उनले रियल म्याड्रिडको मुख्य टोलीको ढोका खोलेका थिए ।

तर एक वर्षपछि नै रियलले दुई वर्षका लागि उनलाई लोनमा बोरुसिया डर्टमन्ड पठायो । २०२० मा उनी इन्टर मिलान पुगे । उनले २०२१ मा इन्टरलाई इटालियन सिरी ‘ए’ को उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेले । त्यो इन्टरले ११ वर्षपछि जितेको पहिलो लिग उपाधि थियो । २०२१ मै उनी ६ करोड ८० लाख युरोमा पीएसजी पुगेका थिए ।

विश्वकप २०२६

कान्तिपुर

Link copied successfully