बाँके मेयर कपमा होलिल्यानड र एनएमए च्याम्पियन

छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्यान्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज मोडेलकी भावना खड्का चुनिए ।

असार १०, २०८३

कान्तिपुर संवाददाता

Holyland and NMA champions in Banke Mayor's Cup

नेपालगन्ज — बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र–छात्रा यू–१८ फुटबल प्रतियोगितामा होलिल्यान्डको छात्र र नेपालगन्ज मोडेल एकेडेमीको छात्रा टिम च्याम्पियन भएका छन् ।

छात्रतर्फ होलिल्यान्डले नेपालगन्ज मोडेल एकेडेमीलाई सडेनडेथमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेका थिए । 

२४ औं मिनेटमा अनमोल बिकको गोलबाट होलिल्यान्डले अग्रता बनायो । ४७ औं मिनेटमा सुनिल थारुले गोल गरेर नेपालगन्ज मोडेललाई खेलमा फर्काए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । त्यसमा होलिल्यान्डले सफलता प्राप्त गरेको थियो ।

पेनाल्टीमा होलिल्यान्डबाट अभिषेक थापा, आशिष कुमाई, मनिष सुनार, डानेल रोकामगर, अनमोल बिकले गोल गरे । हिमाल पुरीको प्रहार गोलकिपर आयुष चन्दले रोकेका थिए ।

नेपालगन्ज मोडेलबाट महेश शाही, आयुष चन्द, राज नेपाली र सुनिल थारुले गोल गरे भने पुष्कर मल्ल र नीराजन शाही गोल गर्न सकेनन् ।

फाइनलमा प्लेयर अफ द म्याच होलिल्यान्डका गोलकिपर प्रवीण सुनार भए ।  

छात्रातर्फ नेपालगन्ज मोडेल एकेडेमीले मनकामना स्कुललाई ३–० ले गोलले पराजित गरेको हो । मोडेलकी ज्योति कँडेलले सातौं र ३६ मिनेट तथा विनिता चौधरीले २१ औं मिनेटमा गोल गरे । फाइनलमा प्लेयर अफ द म्याच नेपालगन्ज मोडेलकी ज्योति कँडेल चुनिए ।

छात्रतर्फका सर्वोत्कृष्ट खेलाडी होलिल्यान्डका अभिषेक थापा र छात्रामा नेपालगन्ज मोडेलकी भावना खड्का चुनिए । विधागतमा उत्कृष्ट छात्रतर्फ होलिल्यान्डका गोलकिपर प्रवीण सुनार, रक्षकमा नेपालगन्ज मोडेलका सुनिल थारु, मिडफिल्डमा नेपालगन्ज मोडेलका गणेशसिंह ठकुरी, स्ट्राइकरमा होलिल्यानडका अनमोल बिक र उत्कृष्ट प्रशिक्षकमा होलिल्यान्डका जंगबहादुर थापा पुरस्कृत भए ।

छात्रामा उत्कृष्ट गोलकिपर मनकामना स्कुलकी प्रियंका बिक, रक्षक, मिडफिल्डर, स्ट्राइकरमा नेपालगन्ज मोडेलका क्रमशः शीतल रोकाय, सविता चौधरी, ज्योति कँडेल तथा उत्कृष्ट प्रशिक्षकमा नरेन्द्र शाह पुरस्कृत भए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताका विजेताले ३१ हजार र उपविजेताले १६ हजार पुरस्कार पाए ।

कान्तिपुर

Link copied successfully