एनओसी अवार्ड : विजय र एरिका सर्वोत्कृष्ट

पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड जितेका हुन् । एरिकाले यो अवार्ड दोस्रो पटक जितेकी हुन् ।

असार ९, २०८३

कान्तिपुर संवाददाता

NOC Award: Vijay and Erica Best

What you should know

काठमाडौँ — जुडोका विजय सिञ्जाली र करातेकी एरिका गुरुङले एनओसी अवार्ड २०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित भएका छन् ।

पुरुषतर्फ विजय र महिलातर्फ एरिकाले एनओसी अवार्ड जितेका हुन् । एरिकाले यो अवार्ड दोस्रो पटक जितेकी हुन् । पुरुष प्रशिक्षकतर्फ करातेकै कुशल श्रेष्ठ अवार्ड जित्न सफल भए । उनले पनि एरिकासँगै यो अवार्ड जितेका थिए ।

महिला प्रशिक्षकमा कबड्डीकी हरिना थापा एनओसी अवार्ड जित्न सफल भइन् । अघिल्लो पटक कबड्डीकी पार्वती थापाले यो अवार्ड जितेकी थिइन् ।

एनओसी उत्कृष्ट युवा खेलाडीको अवार्ड बक्सिङका नुर्बु ढेण्डुप शेर्पा र टेनिसकी शिभाली गुरुङले जितेका छन् ।  

एनओसी उत्कृष्ट खेल पत्रकार (प्रिन्ट) को अवार्ड खेलाडी डटकमका सम्पादक अजय फुयाललाई प्रदान गरिएको थियो । हाम्रो खेलकुदकी वरिष्ठ संवाददाता सरिता श्रेष्ठले एनओसी उत्कृष्ट अनलाइन खेल पत्रकारको अवार्ड प्राप्त गरिन् । एनओसी सर्वश्रेष्ठ क्यामरापर्सन अवार्डबाट पोखराका सुदर्शन रञ्जित पुरस्कृत भए ।

उत्कृष्ट संघतर्फ नेपाल कराते महासंघ चुनियो । हरेक विधाका विजेताका सम्मानितलाई ५० हजार, ट्रफीसहित नेपाली कार्पेट प्रदान गरिएको थियो । कार्पेट न्यु होराइजन कार्पेटले उपलब्ध गराएको जनाइएको छ ।

एनओसी प्रेसिडेन्सियल अवार्डबाट अशोकरत्न वज्राचार्य, गीता राणा, चतुरानन्द राजवैद्य, नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसन, थन्डरबोल्ट स्पोर्ट्स एकेडेमी (जेम्स स्कुल), वागमती प्रदेश खेलकुद परिषद्का पूर्वसदस्यसचिव सूर्यलाल भण्डारी र साइक्लिस्ट लक्ष्मी श्रेष्ठ सम्मानित गरिएको थियो ।

सम्मानितलाई एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए ।

हरेक वर्ष जुन २३ को दिन ओलम्पिक दिवस मनाउने क्रममा एनओसीले अवार्ड कार्यक्रम गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । यो अवार्ड एनओसीले चौथो पटक आयोजना गरेको हो । एनओसीका महासचिव राजीव श्रेष्ठ, अवार्ड कार्यक्रम संयोजक गोपाल सुन्दरलाल कक्षपतिले अवार्डबारे बताएका थिए ।

कान्तिपुर

Link copied successfully