६५ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो भने ९६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ आभेर ३ बलमा ८९ रनमै अलआउट हुँदा ६ रनले पराजित बन्यो ।
What you should know
पर्सा — नेकोस कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ र बागमती महिला टोलीले सहज जित हात पारेका छन् ।
मंगलबार वीरगन्जमा भएको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्यो । टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको एपीएफले कसिलो बलिङ गर्दै गण्डकीलाई सस्तैमा समेटेको थियो ।
निर्धारित २० ओभर ब्याटिङ गरेको गण्डकीले ८ विकेट गुमाएर मात्र ६४ रन बनाउन सक्यो । गण्डकीका लागि रेखा तामाङ र सीमाना केसीले समान १०–१० रन बनाएका थिए । एपीएफको बलिङसामु गण्डकीका ब्याटर खुलेर खेल्न सकेनन् । एपीएफका लागि राजमती ऐरी र शबनम राईले समान २/२ विकेट लिए ।
६५ रनको सामान्य लक्ष्य पछ्याएको एपीएफले १३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर विजयी लक्ष्य पूरा गर्यो । एपीएफको जितमा रोमा थापाले अविजित २५ र कविता जोशीले अविजित २० रनको योगदान दिए । गण्डकीका लागि यशोदा भुजेल र सिमाना केसीले १–१ विकेट लिए पनि टोलीलाई हारबाट बचाउन सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी एपीएफकी कविता जोशी ‘प्लेयर अफ द म्याच’ भइन् ।
दोस्रो खेलमा बागमती महिला टोलीले सुदूरपश्चिम महिला टोलीमाथि रोमाञ्चक जित दर्ता गरेको छ । टस जितेर फिल्डिङ गरेको सुदूरपश्चिमले बलिङमा राम्रो सुरुवात गरे पनि ब्याटिङमा भने लक्ष्य पछ्याउन चुक्दा बागमतीसँग ६ रनले पराजित हुन पुग्यो । पहिले ब्याटिङ गरेको बागमतीले १७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै ९५ रन बनाएको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले ३७ र सोनी पाख्रिनले १५ रनको योगदान दिए । सुदूरपश्चिमका लागि करिश्मा थापाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् भने ऋतु कनौजियाले २ विकेट हात पारिन् ।
९६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १९ आभेर ३ बलमा ८९ रनमै अलआउट भयो । सुदूरपश्चिमका लागि सावित्री धामीले २५ र करुणा विष्टले १२ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन । बागमतीका लागि कृष्ण गुरुङ र कञ्चन श्रेष्ठले समान ३–३ विकेट लिँदै टोलीको जित सुनिश्चित गरे । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी बागमतीकी कञ्चन श्रेष्ठ ‘प्लेयर अफ द म्याच’भइन् ।
