यस वर्षको शरदचन्द्र शाहा स्पोर्ट्स अवार्ड बक्सिङका पूर्वओलम्पियन खेलाडी उमेश मास्केलाई प्रदान गरिएको थियो ।
What you should know
काठमाडौँ — शरदचन्द्र शाहा मेमोरियल फाउन्डेसनले नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याएका विशिष्ट व्यक्तित्व र उदीयमान खेलाडीलाई मंगलबार सम्मान गरेको छ ।
यस वर्षको शरदचन्द्र शाहा स्पोर्ट्स अवार्ड बक्सिङका पूर्वओलम्पियन खेलाडी उमेश मास्केलाई प्रदान गरिएको थियो । उनले सन् १९८० को मस्को ओलम्पिक र १९८४ को लस एन्जलस ओलम्पिकमा भाग लिएका थिए ।
सक्रिय खेल जीवनबाट संन्यास लिएपछि पनि नेपालमा बक्सिङ खेलको प्रवर्द्धनमा मास्केले योगदान पुर्याउँदै आएका छन् । सन् १९८८ देखि १९९२ सम्म कोषाध्यक्ष र सन् १९९५ देखि २००० सम्म नेपाल बक्सिङ संघको अध्यक्षको जिम्मेवारी सम्हालेका मास्केलाई बक्सिङ खेलको विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मानबाट गरिएको फाउन्डेसनले जनाएको छ । खेलाडीतर्फ शरदचन्द्र शाहा स्पोर्ट्स अवार्ड क्रिकेटका स्टार खेलाडी सन्दीप लामिछानेलाई प्रदान गरिएको थियो । इन्डियन प्रिमियर लिगसहित विश्वका थुप्रै फ्रेन्चाइज लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेर देशलाई गौरवान्वित बनाएका सन्दीप राष्ट्रिय क्रिकेट टोलीको कप्तानको भूमिकामा पनि रहे । हालै मात्र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने खेलाडीको विश्व कीर्तिमान कायम बनाएका उनको ऐतिहासिक सफलताको उच्च मूल्यांकन गर्दै अवार्ड प्रदान गरिएको जनाइएको छ । देशबाहिर रहेकाले सन्दीप कार्यक्रममा उपस्थित थिएनन् । उनको अवार्ड काठमाडौं जिल्ला क्रिकेट संघका सचिव तथा पूर्व राष्ट्रिय टोलीका खेलाडी किरण राणाले ग्रहण गरेका थिए । दुवै सम्मानित व्यक्तित्वलाई जनही २ लाख ५० हजार नगद र कदरपत्र प्रदान गरिएको थियो ।
फाउनडेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिमा सुधारका लागि समर्पित वा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु रहेको जनाएको छ ।
२०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष रहेका शरदचन्द्र शाहा नेपाली खेलकुद इतिहासमा प्रमुख परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात चिनिन्छन् । उनी एसियाली ओलम्पिक काउन्सिलको उपाध्यक्ष समेत भए । उनी नेपालको बृहत राष्ट्रिय खेलकुद र दक्षिण एसियाली खेलकुदको योजनाकार पनि शाहको सम्झनामा उनका परिवारजनद्वारा ३० नोभेम्बर २०२० मा फाउन्डेसन स्थापना गरिएको हो ।
