पोखराले सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं महानगरपालिकालार्य ६ रनले पराजित गरेको छ ।
What you should know
काठमाडौँ — पोखरा महानगरपालिकाले पीएल सिंह मेमोरियल टी२० कप क्रिकेटमा लगातार दोस्रो विजय हात पारेको छ । पोखराले सोमबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौं महानगरपालिकालार्य ६ रनले पराजित गरेको छ ।
मैदान भिजेका कारण १० ओभरमा छोट्याइएको खेलमा टस हारेपछि ब्याटिङमा आएको पोखराले २ विकेट गुमाएर १ सय ७ रन बनायो । ओपनिङ ब्याटर अर्जुन कुमालले २४ बलमा ५० रनको अविजित अर्धशतकीय इनिङ्स खेले । प्लेयर अफ द म्याच उनले ६ चौका र २ छक्का प्रहार गरे । सन्दीप खत्री क्षेत्रीले १५ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ३५ रन बनाए । काठमाडौंका बिशाल फुयालले १ विकेट लिए ।
जबाफमा आएको काठमाडौंले ७ विकेट गुमाई १ सय १ रन मात्र बनाउन सक्यो । कृष कार्कीले २५ र उत्तम थापा मगरले अविजित १८ रन जोडे । पोखराका अपराजित पौडेल, कृष्ण पौडेल र बिपिन खत्रीले समान २–२ विकेट लिए ।
पोखरा पहिलो दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौंले तेस्रो खेलमा पहिलो पराजय बेहोरेको हो । भरतपुर, ललितपुर र विराटनगर महानगरपालिकाको २–२ अंक छ । वीरगन्ज दुबै खेलमा पराजित रहेको छ ।
विराटनगरले सोमबारको दोस्रो खेलमा ललितपुरलाई ८ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । रोशन बीकेले २५ बलमा अविजित ४२ रन र आदिल खानले २३ रन बनाए । विराटनगरका कृष शर्मा र प्रतिक पोखरेलले २–२ विकेट लिए ।
सुजन थापलियाले मात्र ३७ बलमा ८१ रन बनाएपछि विराटनगरले १६.५ ओभरमा लक्ष्य पुरा गर्यो । प्लेयर अफ द म्याच सुजनले २ चौका र ९ छक्का प्रहार गरे । रोबिन मण्डलले ३९ बलमा ४४ रनको योगदान दिए । ललितपुरका तिलकराज भण्डारी र बिबेक रानामगरले १–१ विकेट लिए ।
