प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका प्रमोद तामाङ र महिलामा काठमाडौंकै जेनिशा वाइबा उत्कृष्ट खेलाडी घोषित भए ।
काठमाडौं — काठमाडौं जिल्लाले ४ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै तेस्रो बागमती प्रदेश खेलकुदको जुडोतर्फ टिम च्याम्पियन ट्रफी जितेको छ ।
नयाँबजरस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा भएको प्रतियोगितामा ४ स्वर्ण र ४ कांस्यसाथ रामेछाप दोस्रो भयो । तेस्रो स्थानको ललितपुरले २ स्वर्ण, ३ रजत र ४ कांस्य जित्यो । १३ स्वर्णका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा रसुवा, काभ्रेपलान्चोक र मकवानपुरले १–१ स्वर्ण जितेका छन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रतियोगिताको पुरुषमा काठमाडौंका प्रमोद तामाङ र महिलामा काठमाडौंकै जेनिशा वाइबा उत्कृष्ट खेलाडी घोषित भए । प्रमोदले ७३ केजीमुनि र जेनिशाले ४८ केजीमुनि स्वर्ण जितेका थिए । प्रमोद पाम जुडो क्लब र जेनिशा एमएमएसीमा प्रशिक्षणरत खेलाडी हुन् । उत्कृष्टले जनही २० हजार पुरस्कार पाए ।
विजेतालाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले पुरस्कृत गरे ।
दुई प्रतियोगितामा ८४ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक धर्मकुमार श्रेष्ठले जनाएका छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई क्रमशः ५ हजार, ४ हजार र ३–३ हजार पुरस्कार प्रदान गरिएको थियो ।
