१७ स्वर्णसहित आर्मीलाई राष्ट्रिय एथलेटिक्सको उपाधि

सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको हो।

असार ८, २०८३

ज्योति कटुवाल

Army wins national athletics title with 17 gold medals

सुर्खेत — त्रिभुवन आर्मी क्लबले १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक जित्दै ४६औँ राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि हात पारेको छ।

सुर्खेतको वीरेन्द्रनगरमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बनेको हो। यस्तै नेपाल पुलिस क्लब दोस्रो स्थानमा रह्यो। पुलिसले ८ स्वर्ण, ७ रजत र ३ कास्यसहित १८ पदक जित्यो। बागमती प्रदेश २ स्वर्ण, १ रजत र १ कास्यसहित तेस्रो बन्यो।

प्रतियोगितामा महिला ४ सय मिटर दौड र ट्रिपल जम्पमा नेपाल पुलिस क्लबकी जयरानी थारु चम्किइन्। उनले ४ सय मिटर दौड ५७:१९ सेकेन्डमा पूरा गर्दै नवौँ राष्ट्रिय खेलकुदमा एपीएफकी रमिता थारुले बनाएको ५८:१० सेकेन्डको कीर्तिमान तोडिन्। ट्रिपल जम्पमा पनि उनले १२ मिटर ४९ सेन्टिमिटर दूरी पार गर्दै केसरी चौधरीको नाममा रहेको १२ मिटर २० सेन्टिमिटरको पुरानो कीर्तिमान भंग गरिन्।महिला १६ सय मिटर रिलेमा त्रिभुवन आर्मी क्लबले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्‍यो।

यस्तै, पुरुष लङ जम्पमा आर्मीका सलिम देवानले ७ मिटर ५८ सेन्टिमिटर जम्प गर्दै आठौँ राष्ट्रिय खेलकुदमा बनेको ७ मिटर ३२ सेन्टिमिटरको पुरानो रेकर्ड तोडे। नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कर्णाली प्रदेश खेलकुद परिषद्को सहयोगमा सम्पन्न प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोली सहभागी थिए। प्रतियोगितामा १ सय २० महिला र १ सय २० पुरुष गरी कुल २ सय ४० खेलाडीले २८ विधामा प्रतिस्पर्धा गरेका थिए।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिताका प्रत्येक विधाका विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार रुपैयाँ र तेस्रो हुने खेलाडीले ५ हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेका छन्।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले कर्णालीलाई क्षेत्रलाई खेल हबका रूपमा विकास गर्ने बताए । ‘अब कर्णालीमा दक्षिण एसियालीस्तरका प्रतियोगिता हुने छन्, खेलकुदले पर्यटन, अर्थतन्त्रमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ’, उनले भने, ‘यो पटक सात प्रदेश र तीन विभागका गरी ३ सय २० खेलाडी मात्र सहभागी भए अब तीन हजार खेलाडी भित्राउने योजना छ ।’

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully