स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स स्विडेनलाई सानदार ढंगले पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ ।

असार ७, २०८३

एएफपी

Netherlands claim World Cup spot with 5-goal win over Sweden

ह्युस्टन — नेदरल्यान्ड्सले ह्युस्टनमा भएको विश्वकप फुटबल २०२६ को समूह ‘एफ’ को खेलमा शनिबार स्विडेनलाई ५–१ गोल अन्तरले पराजित गरेको छ । ब्रायन ब्रोबी र कोडी गाक्पोको २–२ गोलबाट प्रेरित नेदरल्यान्ड्सले यससँगै उपाधिको दाबेदारी पनि प्रस्तुत गरेको छ । 

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स स्विडेनलाई सानदार ढंगले पराजित गरेपछि समूहको शीर्ष स्थानमा पुगेको छ । पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले पराजित गरेको स्विडेनले नकआउट चरणमा पुग्न अर्को खेलमा जापानविरुद्ध आफूअनुकूल नतिजा निकाल्नु पर्नेछ ।

नेदरल्यान्ड्सले अब ट्युनिसियासँग आफ्नो समूह चरणको अन्तिम खेल खेल्ने छ । सन् १९५८ मा आफ्नै भूमिमा आयोजित विश्वकपको फाइनलमा ब्राजिलसँग ५–२ ले पराजय भोगेयता स्विडेनले विश्वकपमा सबैभन्दा ठूलो हार आज बेहोरेको हो । 

प्रतियोगितामा पहिलो पटक प्लेयिङ ११ बाट खेलिरहेका ब्रायन ब्रोबीले नेदरल्यान्ड्सलाई पाँचौं मिनेटमा अग्रता दिलाएका थिए । उनले गाक्पोको पासलाई सदुपयोग गरेका थिए । १७ औं मिनेटमा उनले नै दोस्रो गोल थपे । 

मध्यान्तरपछिको ९ मिनेटमा गाक्पोले दुई गोल गर्दै नेदरल्यान्ड्सलाई मजबुत स्थितिमा पुर्‍याए । गाक्पोले ४७ र ५४ औं मिनेटमा गोल गरेका थिए । एन्थोनी इलाङ्गाले स्विडेनबाट ५९ औं मिनेटमा एक गोल फर्काए । क्रिसेन्सिओ समरभिलले ८९ औं मिनेटमा नेदरल्यान्ड्सबाट पाँचौं गोल गरे ।

एएफपी

Link copied successfully