थाहा गोल्डकप उपाधि चन्द्रागिरिको कुर्दन एकेडेमीलाई

थाहा नगरपालिकामा सम्पन्न छैठौं थाहा गोल्डकपको उपाधि कुर्दन फुटबल एकेडेमी चन्द्रगिरिले पेनाल्टी सुटआउटमा चित्लाङ एफसीलाई ४–२ ले पराजित गर्दै जितेको छ।

असार ७, २०८३

प्रताप विष्ट

Chandragiri's Kurdan Academy wins Thaha Gold Cup title

What you should know

हेटौंडा — थाहा नगरपालिकामा सम्पन्न छैठौं थाहा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कुर्दन फुटबल एकेडेमी चन्द्रगिरिले उचालेको छ ।

थाहा नगरपालिका-३ ईन्द्रायणीमाईको चौरमा शनिबार कुर्दन फुटबल एकेडेमी चन्द्रागिरिले चित्लाङ एफसीलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै विजेता कुर्दन फुटबल एकेडेमी चन्द्रागिरीले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता चित्लाङ एफसीले १ लाख रुपैयाँमा चित्त बुझायो । 
निर्धारित समयमा दुवै टिमबाट एक–एक गोल भएपछि खेल बराबरीमा सकिएको थियो । चित्लाङ एफसीका लागि विश्व हायुले गोल गरे भने कुर्दनका तर्फबाट सुजित बुढाथोकीले बराबरी गोल फर्काएका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको थियो ।

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा आयोजित उक्त प्रतियोगिताको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका कुर्दनका गोलरक्षक सन्तोष महत ‘म्यान अफ द म्याच’ घोषित भएका थिए । व्यक्तिगत पुरस्कारतर्फ चित्लाङ एफसीका सन्तोष गोम्बा सर्वाधिक गोलकर्ता (हाइ स्कोरर) घोषित भए ।

कुर्दनका कमल श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने भने चित्लाङ एफसीका अभिषेक खड्का उत्कृष्ट गोलरक्षक घोषित भए । त्यसैगरी चित्लाङ एफसीका शुभराज गोले प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । उनले १२ हजार ५ सय रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर तथा सर्वाधिक गोलकर्ताले जनही ६ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । 

प्रतियोगिताका विजेता, उपविजेता टिमलाई थाहा नगरपालिकाका मेयर विष्णुबहादुर विष्ट, उपमेयर भरत गोपाली, खेलकुद विकास समिति संयोजक टीकाराम स्याङ्तान, प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल र आयोजक शिखर क्लबका अध्यक्ष विश्व अर्याल पुरस्कार वितरण गरेका थिए । असार ३ बाट सुरु भएको उक्त प्रतियोगितामा ७ टिमको सहभागी थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully