त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भरतपुरले वीरगञ्ज महानगरपालिकालाई ७४ रनले र पोखराले विराटनगर महानगरपालिकालाई ९ विकेटले पराजित गर्यो ।
What you should know
काठमाडौँ — भरतपुर महानगरपालिका र पोखरा महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप क्रिकेट प्रतियोगितामा शनिबार विजय हात पारेका छन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भरतपुरले वीरगञ्ज महानगरपालिकालाई ७४ रनले र पोखराले विराटनगर महानगरपालिकालाई ९ विकेटले पराजित गर्यो ।
टस जितेको भरतपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६७ रन बनायो । गौतम केसीले आक्रामक ब्याटिङ गर्दै मात्र २२ बलमा ४ चौका र ३ छक्कासहित अविजित ४३ रन बनाए । ओपनर पवन थापा ३१, रोशन झा २१ र प्रतीक श्रेष्ठ १७ रनमा आउट भए । वीरगञ्जका विशाल पटेल र पवन सर्राफले २–२ तथा आशिक बैठा र रञ्जीत कुमारले १–१ विकेट लिए ।
जबाफमा आएको वीरगञ्ज १७.३ ओभरमा मात्र ९३ रनमा अलआउट भयो । सन्तोष कार्कीले २४, मयन यादवले १८, अरनिको यादवले १७ र विशाल पटेलले १० रन बनाए । भरतपुरका सुभाष खत्रीले ४ ओभरमा २८ रन खर्चेर ३ तथा प्रतीक र प्लेयर अफ द म्याच गौतमले २–२ विकेट लिए ।
अर्को खेलमा पोखराले विराटनगर महानगरपालिकालाई ९ विकेटको भारी अन्तरले पराजित गर्यो। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ९९ रन मात्र बनाउन सक्यो । ओपनर क्रिश शर्माले ३३ बलमा अविजित ५१ रन र कृतिक कामतले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो स्कोरमा रन बनाउन सकेनन् । पोखराका विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २ रन खर्चेर ४ विकेट लिदैं प्लेयर अफ द म्याच बने । सुवास भण्डारी र कृष्ण पौडेलले २–२ विकेट तथा सुदीप अर्यालले १ विकेट लिए ।
पोखराले १०.४ ओभरमै लक्ष्य पुरा गर्यो । ओपनर दीपक डुम्रेले ३० बलमा ५ चौका र ४ छक्काको मद्दतले अविजित ५४, अर्जुन कुमालले ३१ बलमा अविजित ४२ रन बनाए । विराटनगरबाट विपिन महतोले मात्र १ विकेट लिए ।
