भारतमा पहिलो फ्रेन्चाइजमा आधारित एमएमए फाइट प्रतियोगिताका रूपमा परिचित आईएफएल दक्षिण एसियामै लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो ।
काठमाडौँ — नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) खेलाडी कोशिश श्रेष्ठले भारतको इन्टरनेसनल फाइट लिग (आईएफएल) मा दिल्ली टिमबाट खेल्ने भएका छन् ।
भारतमा पहिलो फ्रेन्चाइजमा आधारित एमएमए फाइट प्रतियोगिताका रूपमा परिचित आईएफएल दक्षिण एसियामै लोकप्रिय बन्दै गएको कम्ब्याट स्पोर्ट्स प्लेटफर्म हो ।
इन्डियन प्रिमियर लिग (आईपीएल), प्रो कबड्डी लिग र इन्डियन सुपर लिग (आईएसएल) जस्ता सफल फ्रेन्चाइज मोडेलमा आधारित प्रतियोगिताबाट प्रेरित आईएफएलले विभिन्न सहरका टिममार्फत यस क्षेत्रका उत्कृष्ट फाइटरलाई एउटै मञ्चमा ल्याएको छ । यसले एमएमए खेललाई व्यावसायिक र दिगो बनाउने अवसर सिर्जना गरिरहेको छ ।
हाल १–० को व्यावसायिक एमएमए रेकर्ड कायम गरेका कोशिशले दिल्ली टिमबाट प्रतिस्पर्धा गर्नेछन् । उनले मुम्बई फ्रेन्चाइजका अनुभवी फाइटर प्रचण्ड जामिल्यासँग प्रतिस्पर्धा गर्नेछन् । प्रचण्डको एमेच्योर रेकर्ड १४–४ को छ । दिल्ली र मुम्बईबीचको यो भिडन्त प्रतियोगिताकै प्रमुख आकर्षणमध्ये एक हुने अपेक्षा गरिएको छ ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीको पहिचान बढिरहेको स्थितिमा दिल्ली फ्रेन्चाइजमा कोशिशको सहभागितालाई पनि अर्को महत्वपूर्ण उपलब्धिमा हेरिएको छ ।
यसले व्यावसायिक कम्ब्याट स्पोर्ट्समा नेपाली प्रतिभाको बलियो उपस्थिति देखाउनुका साथै नेपालले उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादनको सम्भावनालाई पनि उजागर गरेको छ ।
मिक्स्ड मार्सल आर्ट्स (एमएमए) मा नेपाली प्रो फाइटर रवीन्द्र ढाँटको प्रदर्शनले नेपाललाई विश्व मञ्चमा परिचित गरिएको थियो ।
