सुवास, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८ अन्डर २ सय ७० मा सकेका थिए । योसँगै खेलको निर्णय प्ले–अफबाट भएको हो ।
What you should know
काठमाडौँ — सुवास तामाङले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि प्ले–अफमा जितेका छन् । प्ले–अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराएर सुवास च्याम्पियन भएका थिए । उनले ३ लाख २० हजार रुपैयाँ पुरस्कार जितेका छन् ।
सुवास, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८ अन्डर २ सय ७० मा सकेका थिए । योसँगै खेलको निर्णय प्ले–अफबाट भएको हो । प्ले–अफमा सुवासले पार खेले भने भुवन र सदभाव दुवैले पार पट गुमाए । भुवन दोस्रो भए । उनले २ लाख ६ हजार पुरस्कार पाए ।
सुवासले शुक्रबार ३ अन्डर ६९ खेलेका थिए । तेस्रो होलको बोगीविरुद्ध सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन इभन–पार ३६ खेलेका थिए ।११ देखि १३ औं होलसम्म तीन बर्डीसहित ३ अन्डर ३३ मा सकेका थिए ।
भुवनले ४ अन्डर ६८ मा खेल टुंग्याए । दोस्रो होलमा बोगी खेलेका उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डीको सफलता पाए । फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । ११ र १७ औं होलमा बर्डी प्रहार गर्दा डबल बोगी खेल्दै इभन–पार ३६ खेलेका थिए ।
सदभावले दिनकै उत्कृष्ट ६ अन्डर ६६ को स्कोर कार्ड बनाए । उनले फ्रन्ट र ब्याकनाइन दुवै ३ अन्डर ३३ खेलेका थिए । उनले तेस्रो, छैटौं, नवौं, १२, १६ र १८ औं होलमा बर्डी प्रहार गरे । यो उत्कृष्ट स्कोरमा प्लेअफमा पुगेका सदभाव एमेच्योरतर्फ विजेता भए । उनले राहुल विश्वकर्मालाई ८ स्ट्रोकले हराए ।
फाइनल ग्रुपमा खेलेका शुक्रबहादुर राई समग्रमा १५ अन्डर २ सय ७३ सहित चौथो भए । ३ अन्डर ७९ मा खेल पूरा गरेका उनी प्रोतर्फ तेस्रो भएर १ लाख ६२ हजार जिते ।
साबिक विजेता राहुल समग्रमा १० अन्डर २ सय ७८ को स्कोरसहित पाँचौं भए । उनले अन्तिम दिनको खेल इभन पार ७२ खेले । एमेच्योरतर्फ उनी दोस्रो भए । एमेच्योर तेन्जिङ छिरिङ समग्रमा ७ अन्डर २ सय ८१ सहित सातौं स्थानमा टुंग्याए । एमेच्योरतर्फ उनी तेस्रो भए ।
समग्रमा ३ अन्डर २ सय ८५ सहित दिनेश प्रजापति सातौं भए । प्रोतर्फ चौथो भएका उनले १ लाख ४५ हजार जिते । समग्रमा १ अन्डर २ सय ८७ सहित एमेच्योर वाङचेन ढोन्डुप आठौं भए । नेपाल नम्बर एक प्रो नीरज तामाङ नवौं भए । उनले इभन–पार २ सय ८८ मा टुंर्ग्या । प्रोतर्फ पाँचौं भएर उनले १ लाख २८ हजार पुरस्कार पाए ।
समग्रमा १ ओभर २ सय ८९ सहित प्रो गल्फर भुवनकुमार रोक्का, तोरणविक्रम शाही, सञ्जय लामा तथा एमेच्योर नोर्बुछिरिङ शेर्पा र रितेश तामाङले समग्रमा दसौं स्थान बाँडे । प्रोतर्फ भुवन, तोरण र सञ्जय प्रोतर्फ छैटौं भए । उनीहरूले जनही ९६ हजार ३ सय ३३ नगद पुरस्कार हात पारे ।
विजयी खेलाडीलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डारेक्टर गौरव तयाल र एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे । सूर्य नेपाल गल्फ टुर २०२५–२६ को आठ प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन् । उनले यो सिजन १० लाख ३३ हजार ५ सय नगद पुरस्कार जितेका छन् । उनले चार प्रतियोगिता जितेका छन् ।
