कीर्तिपुर कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।
What you should know
काठमाडौँ — बूढानीलकण्ठ नगरपालिकाले १० औं राष्ट्रिय महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुर कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा बूढानीलकण्ठले ग्रान्डी स्टार्सलाई ५०–३७ स्कोरले पराजित गर्दै उपाधि जितेको हो । सुरुदेखि नै खेलमा अग्रता लिएको बूढानीलकण्ठले हाफटाइमसम्म २७–१३ को अग्रता बनायो । त्यसपछि ग्रान्डी स्टार्सले पुनरागमनको प्रयास गरे पनि नै बूढानीलकण्ठको जितमा सुरुको अग्रता निर्णायक बन्यो । बूढानीलकण्ठले १३–६, १४–७, १३–१४, १०–१० को प्रदर्शन गर्यो ।
सेमिफाइनलमा बूढानीलकण्ठले सुनसरी बास्केटबल र ग्रान्डी स्टार्सले आइएसए नेपाललाई पराजित गरेको थियो ।
बूढानीलकण्ठकी उर्जा राना मगर फाइनलकी प्लेयर अफ द म्याच घोषित भइन् । विजेता बूढानीलकण्ठले ५० हजारसहित ट्रफी हात पारेको छ । उपविजेता ग्रान्डी स्टार्सले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
यस्तै च्याम्पियन टिमकी अनुसा मल्ल मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । उदीयमान टोली बनेको सुनसरीले पनि १० हजार पायो । उपत्यका बाहिरबाट सहभागी टिमको उदीयमान खेलाडी अन्नपूर्ण बास्केटबलकी निर्विति शर्मा बनिन् । उनले ५ हजार प्राप्त गरिन् ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भएको प्रतियोगितामा उपत्यका बाहिरका तीनसहित ८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता साबा महिला बास्केटबल च्याम्पियनसिपको लागि राष्ट्रिय टिम छनोटको आधारसमेत रहेको बास्केटबल संघले जनाएको छ ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य सिक्का सुवाल श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ, नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङलगायतले पुरस्कृत गरे ।
