यसै समूहको पहिलो खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि कोलम्बिया समूह ‘के’ मा बलियो स्थितिमा पुगेको छ ।
काठमाडौँ — दोस्रो हाफको दुई गोलको मद्दतले कोलम्बियाले विश्वकप २०२६ मा बिहीबार उज्वेकिस्तानलाई ३–१ ले हराएको छ । यससँगै कोलम्बिया तीन अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा उक्लेको छ । यसै समूहको पहिलो खेलमा पोर्चुगल र डीआर कंगोले १–१ को बराबरी खेल्दै अंक बाँडेपछि कोलम्बिया समूह ‘के’ मा बलियो स्थितिमा पुगेको छ ।
मेक्सिको सिटी स्टेडियममा भएको खेलमा ड्यानिएल मुनोजले भलिबाट गरेको उत्कृष्ट गोलको मद्दतले कोलम्बियाले ४० औं मिनेटमा अग्रता लिएको थियो । विश्वकपमा डेब्यु गरिरहेको उज्वेकिस्तान खेलको ६० औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । प्रशिक्षक फाबियो कानाभारोको नेतृत्वमा उज्वेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेको हो ।
उज्वेकिस्तानले दोस्रो हाफमा बलियो चुनौती पेस गरेको हो र यसैक्रममा एबोसबेक फायजुलेभले हेडबाट गोल गरेका हुन् । तर कोलम्बिया ६५ औं मिनेटमा डियाजको गोलमा फेरि अग्रता लिन सफल रह्यो ।दोस्रो हाफको इन्ज्युरी समयको नवौं मिनेटमा जमिन्टन काम्पाजले कोलम्बियाको लागि तेस्रो गोल थपे ।
अब पोर्चुगलले उज्वेकिस्तान र कोलम्बियाले डीआर कंगोको सामना गर्नेछ ।
