प्रिमियर गल्फमा भुवनको एक्लो अग्रता

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ४ अन्डर ६८ को स्कोरमा भुवनले एमेच्योर गल्फर सदभाव आचार्यलाई २ स्ट्रोकले पछाडि पारेका छन् ।

असार ३, २०८३

कान्तिपुर संवाददाता

Bhuvan's lone lead in Premier Golf

What you should know

काठमाडौं — भुवन नगरकोटीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा बुधबार १३ अन्डर १ सय ३१ को स्कोरसहित अग्रता बनाएका छन् ।

गोकर्ण गल्फ क्लबमा दोस्रो दिन ४ अन्डर ६८ को स्कोरमा उनले एमेच्योर गल्फर सदभाव आचार्यलाई २ स्ट्रोकले पछाडि पारेका छन् । सदभावले ६ अन्डर ६६ खेल्दै समग्रमा ११ अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा छन् ।

प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) खेलिरहेका सुवास तामाङ र शुक्रबहादुर राई समग्रमा ८ अन्डर १ सय ३६ सहित तेस्रो स्थानमा छन् । सुवासले ५ अन्डर ६७ र शुक्रले ४ अन्डर ६८ मा खेल टुंग्याए ।

एमेच्योर राहुल विश्वकर्मा समग्रमा ६ अन्डर १ सय ३८ सहित पाँचौं स्थानमा उक्लिएका छन् । उनले ४ अन्डर ६८ को कार्ड बनाए । समग्रमा ५ अन्डर १ सय ३९ मा तेन्जिङ छिरिङ र ३ अन्डर १ सय ४१ खेलेका वाङचेन ढोन्डुप क्रमशः छैटौं र सातौं स्थानमा छन् । दुवै एमेच्योर खेलाडीले इभन पार ७२ खेले ।

समग्रमा २ अन्डर १ सय ४२ सहित सञ्जय लामा र तोरण विक्रम शाहीले संयुक्त आठौं स्थान बाँडे । सञ्जयले ४ अन्डर ६८ र तोरणले २ ओभर ७४ को स्कोर बनाए ।समग्रमा १ अन्डर १ सय ४३ बनाएका दिनेश प्रजापति दसौं स्थानमा छन् । उनले २ ओभर ७४ मा खेल टुंग्याए ।

भुवनले फ्रन्ट र ब्याक नाइन दुवै २ अन्डर ३४ मा सके । उनले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे । फ्रन्टनाइन बोगीरहित खेले । यसपछि १० औं होलमा एक शट खेर फाले पनि ११, १४ र १५ औं होलमा शट बचाए ।

सदभावले दोस्रो, तेस्रो, चौथो र सातौं होलमा बर्डी प्रहार गर्दा आठौं होलमा एक सट खेर फाले । फ्रन्टनाइन ३ अन्डर ३३ खेले । यसपछि १०, १२, १६ र १८ औं होलमा बर्डी प्रहार गरे । १४ औं होलमा एक शट खेर फाल्दा ब्याकनाइन ३ अन्डर ३३ मा सके ।

सुवासले फ्रन्टनाइन इभन पार ३६ खेले । दोस्रो र आठौं होलमा बोगी खेपेका उनले छैटौं र नवौं होलमा बर्डी प्रहार गरे । १० औं होलमा एक शट बचाएका उनले ११ औं होलमा डबल बोगी खेपे । यसपछि १२–१५ औं होलमा लगातार ४ बर्डी पाए । १७ र १८ औं होलमा पनि शट बचाए । उनले ५ अन्डर ३१ मा ब्याक नाइन पूरा गरे ।

शुक्रले फ्रन्टनाइन ४ अन्डर ३२ मा सके । दोस्रो, तेस्रो, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरेका उनले छैटौं होलमा एक शट खेर फाले । यसपछि बाँकी नौ होलमा पार जोगाएका उनले ब्याकनाइन इभन पार ३६ खेले ।

३६ होलको समाप्तिमा ६ ओभर १ सय ५० स्कोर गरेका १८ प्रो र ७ एमेच्योरसहित २५ खेलाडीले कट बनाएका छन् । प्रोतर्फ रमेश अधिकारी, नेपाल नम्बर एक नीरज तामाङ, भुवनकुमार रोक्का, धनबहादुर थापा, जयराम श्रेष्ठ, पूर्णप्रसाद शर्मा, राजेन्द्र थापा मगर, बलभद्र राई, रूपक आचार्य, सञ्जिवबहादुर नेपाली, सूर्यप्रसाद शर्मा र सुमन परियारले कट बनाए । एमेच्योरतर्फ रितेश तामाङ, नोर्बु छिरिङ शेर्पा र सोहम अग्रवाल कट बनाउन सफल रहे ।

सिजनकै सर्वाधिक १८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा रामे मगर, रवि खड्का, टंक कार्की, प्रदीप कुमार लामा र दीपक मगरले कट बनाउन सकेनन् । विजेताले ३ लाख २० हजार, दोस्रोले २ लाख ६ हजार, तेस्रोले १ लाख ६२ हजार र चौथो हुनेले १ लाख ४५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । शनिबार प्रो एम प्रतियोगिता हुनेछ ।

कान्तिपुर

Link copied successfully