एसियाड छनोट पुनः गराउन पौडी खेलाडीको माग  

पौडी खेलाडीहरूले पूर्वसूचनाअनुसार प्रि–क्वालिफिकेसनलाई रातारात क्वालिफिकेसनमा परिणत गर्ने कार्य गैरकानुनी र खेल नियम विपरीत भएको भन्दै तत्काल सच्याउन माग माग गरेका छन् ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Swimmers demand resumption of Asian Games selection

What you should know

काठमाडौं — इर्भिन श्रेष्ठसहित तीन राष्ट्रिय पौडी खेलाडीले एसियाली खेलकुदका लागि भएको छनोटमा धाँधली भएको जनाउँदै पुनः छनोट गराउन माग गरेका छन् ।

उनीहरूले पूर्वसूचनाअनुसार प्रि–क्वालिफिकेसनलाई रातारात क्वालिफिकेसनमा परिणत गर्ने कार्य गैरकानुनी र खेल नियम विपरीत भएको भन्दै तत्काल सच्याउन माग गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पौडीवाज इर्भिनले प्रि–क्वालिफिकेसन भनिएको खेललाई आधाभन्दा बढी खेल समाप्त भइसकेपछि बिना छाप र हस्ताक्षरको सूचना प्रकाशित गरी क्वालिफिकेसनमा बदल्नुमा ठूलो षड्यन्त्र भएको आरोप लगाए । उनले प्रि-क्वालिफिकेसनको हिट्समा पनि आधुनिक प्रविधिको प्रयोग गरी समय नलिई हाते घडीको प्रयोग गरिएकोबारे छानबिनको माग गरे ।  

नेपाल पौडी संघले २३ र २४ जेठमा तेस्रो नेपाल एक्वाटिक च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसलाई प्रि-क्वालिफिकेसन भनी सूचना प्रकाशित गरेकामा खेलाडी छनोट ढिलो भएको बहानामा क्वालिफिकेसनमा परिणत गरी चलखेल गरिएको खेलाडी इर्भिनले बताए । उनले आफूहरू प्रमाणसहित सर्वोच्च अदालत पुगेको समेत बताए । उनले भने, ‘हामीलाई आशा छ सम्मानित सर्वोच्च अदालतले न्याय दिनेछ ।’

२०औं एसियाली खेलकुद आयोजक जापानले १७ असारसम्म खेलाडीको नाम पठाउने समय दिएको छ, ढिलो नभएको बताउँदै उनले पौडी संघलाई गल्ती कमजोरी सच्याउने अवसर अझै बाँकी रहेको बताए ।

पौडीकी राष्ट्रिय खेलाडी मेधावी केसीले आफूहरू न्यायका लागि वैधानिक तरिकाले अगाडि बढेको बताइन् । 

पौडी प्रशिक्षक मेघ लामाले खेल तालिका अदलबदल भइरहने, सूचनाहरू ढिलो गरी सार्वजनिक गर्ने हुँदा खेलाडीको तयारीमा असर पर्ने बताए ।  

इर्भिनका अभिभावक महेश्वर श्रेष्ठले खेलाडीले धेरै मिहिनेत गरेर राखेको उद्देश्य पूरा गर्नेक्रममा अनावश्यक अवरोध आउनुलाई सम्बन्धित निकायले गम्भीरतापूर्वक लिनुपर्ने बताए । उनले नियमपूर्वक खेलाएर त्रुटि सच्याउन पौडी संघसमक्ष माग गरे ।

कान्तिपुर

Link copied successfully