सूर्य नेपाल प्रिमियर गल्फ : भुवनले लिए एकल अग्रता 

पहिलो राउन्डको समाप्तिमा भुवनले तीन एमेच्योर गल्फर सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बुछिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारेका छन् ।

असार २, २०८३

कान्तिपुर संवाददाता

Surya Nepal Premier Golf: Bhuvan takes sole lead

काठमाडौँ — भुवन नगरकोटीले सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन मंगलबार ९ अन्डर ६३ को सानदार स्कोरसहित अग्रता स्थान हासिल गरेका छन् ।

पहिलो राउन्डको समाप्तिमा भुवनले तीन एमेच्योर गल्फर सदभाव आचार्य, तेन्जिङ छिरिङ र नोर्बुछिरिङ शेर्पालाई ४ स्ट्रोकले पछि पारेका छन् । ५ अन्डर ६७ स्कोर गरेका सदभाव, तेन्जिङ र नोर्बु संयुक्त दोस्रो स्थानमा छन् ।

४ अन्डर ६८ को स्कोरमा शुक्रबहादुर राई र तोरणविक्रम शाहीले पाँचौं स्थान लिए । ३ अन्डर ६९ को स्कोरमा एमेच्योर वाङचेन ढोन्डुप र प्रोफेसनल गल्फर नीरज तामाङ, भुवन रोक्का, सुवास तामाङ र दिनेश प्रजापति संयुक्त सातौं स्थानमा रहे ।

साबिक विजेता एमेच्योर गल्फर राहुल विश्वकर्मा २ अन्डर ७० सहित १२ औं र धनबहादुर थापा १ अन्डर ७१ सहित १३ औं स्थामा छन् ।

भुवनले सानदार प्रदर्शन गर्ने क्रममा बोगीरहित कार्ड बनाए । पहिलो, तेस्रो र सातौं होलको बर्डीले फ्रन्ट नाइन ३ अन्डर ३३ मा सके । यसपछि उनले ११, १३, १४ र १५ औं होलमा बर्डी प्रहार गरे भने ४ पारको १८ औं होलमा इगलको सफलता पाए । ब्याक नाइन ६ अन्डर ३० मा सके ।

सदभावले दिनको सुरुआत बोगीबाट गरे पनि तेस्रो, सातौं र नवौं होलमा एक एक शट बचाएर फ्रन्टनाइनमा २ अन्डर ३४ खेले । यसपछि ११ औं होलमा बोगी प्रहार गरे पनि १२ औं होलमा इगलको सफलता पाए । यसपछि १५ र १८ औं होलको बर्डीले ब्याकनाइन ३ अन्डर ३३ मा सके ।

तेन्जिङले पहिलो होलमा बोगी सामना गरे । दोस्रो, तेस्रो र सातौं होलमा एक एक सट बचाए । आठौं होलमा डबल बोगी खेपे । लगतै नवौं होलको इगलले फ्रन्टनाइन २ अन्डर ३४ मा सके । १० औं होलमा फेरि डबल बोगी खेपे लगतै ११ औं होलमा दिनको दोस्रो इगल प्रहार गरे । यसपछि १२, १७ र १८ औं होलको बर्डीले ब्याक नाइन ३ अन्डर ३३ खेले ।

नोर्बुले बोगीरहित फ्रन्टनाइन खेल्ने क्रममा पहिलो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरे । फ्रन्टनाइनमा ३ अन्डर ३३ खेले । यसपछि १० औं होलमा बोगी खेपेका उनले ११, १५ र १६ औं होलको बर्डीले ब्याकनाइन २ अन्डर ३४ सके ।

सिजनको सर्वाधिक १८ लाख नगद पुरस्कार राशिको प्रतियोगितामा ४६ प्रोफेसनल र २२ एमेच्योर गल्फर प्रतिस्पर्धी छन् ।

दोस्रो दिन समाप्तिमा कट लागू हुनेछ । शीर्ष १८ प्रोफेसनल तथा सोही कटमा पर्ने एमेच्योर खेलाडीले अन्तिम दुई राउन्डमा प्रतिस्पर्धा गर्नेछन् ।

विजेताले ३ लाख २० हजार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार पुरस्कार प्राप्त गर्नेछन् । शनिबार प्रो एम प्रतियोगिता हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सिजनको यो अन्तिम प्रतियोगिता हो ।

कान्तिपुर

Link copied successfully