पाँचपोखरी क्रिकेट क्लबलाई उपाधि

पाँचपोखरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा हेलम्बु गाउँपालिकालाई ५ विकेटले पराजित गर्‍यो ।

असार २, २०८३

विनोद पाण्डे

Panchpokhari Cricket Club wins title

What you should know

काठमाडौँ — पाँचपोखरी क्रिकेट क्लबले आठौं पाँचपोखरी टी–२० सिन्धुपाल्चोक जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पाँचपोखरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा हेलम्बु गाउँपालिकालाई ५ विकेटले पराजित गर्‍यो । 

टस जितेर ब्याटिङ रोजेको हेलम्बुले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २१ रनमात्र बनाउन सकेको थियो । प्लेयर अफ द फाइनल बुद्धिमान पाख्रिनले अविजित ५७ रन बनाएपछि पाँचपोखरीले ५ बल अगाडि लक्ष्य पूरा गरेको थियो ।

बुद्धिमानले ५६ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । ओपनर शार्थक धिताल २५ बल खेली २ चौका प्रहार गरी २३, रोशन विक र विपिन आचार्य समान ५, आरभमान तामाङ ६ रनमा आउट भएका थिए । हेलम्बुका सचिन लेखकले ४ ओभरमा २५ रन खर्चेर २ तथा विनोद तामाङ र दोर्जे छिरिङ ह्याल्मोले १–१ विकेट लिए ।

यसअघि हेलम्बुबाट शिवम तिवारीले अविजित ६८ रन बनाएका थिए । उनले ५१ बल खेली २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै सचिनले ३४ बल खेली ३ चौका प्रहार गरी ३५ रन बनाएका थिए । पाँचपोखरीका मनोज खड्काले ४ ओभरमा १२ रनमात्र खर्चेर ३ विकेट लिए । विपिन, सार्थक र विजयकुमार धितालको नाममा १–१ विकेट रह्यो । 

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा हेलम्बुका सचिन लेखक प्लेयर अफ द सिरिजमा चुनिए । उनले समूहचरणमा दोहोरो शतक बनाएका थिए । उनले नै उत्कृष्ट ब्याटरको उपाधि पाए भने उत्कृष्ट बलर पाँचपोखरीका मनोज खड्का भए ।

सोमबार भएको सेमिफाइनलमा पाँचपोखरीले पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३३ रनले र हेलम्बुले दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गरेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully