विश्वकप जितेर बिदा लिने अवसर हुँदाहुँदै मेसीले आफ्नो फुटबल यात्रा जारी राख्दै अहिले नयाँ कीर्तिमानको संघारमा रहेका छन्।
What you should know
कान्सास सिटी — लियोनल मेसीसामु गजब अवसर थियो, सन् २०२२ को विश्वकप जितेर अन्तर्राष्ट्रिय फुटबलबाट बिदा लिने । तर उनी त्यहीं रोकिएनन् । अब उनीसामु ६ संस्करणको विश्वकप खेल्ने पहिलो खेलाडी हुने अवसर छ । मेसी अहिले अर्जेन्टिनाका लागि दुई सय क्याप जित्ने ऐतिहासिक अवसरको संघारमा छन् । हुन त चार वर्षअगाडि मेसीले कतार विश्वकप नै उनको अन्तिम हुने बताएका थिए ।
कतारमा उनको प्रदर्शन गजब रह्यो । सात गोल गरे । त्यसमध्ये दुई गोल त फ्रान्सविरुद्धको फाइनलमै थियो । ‘त्यही बेला म आफ्नो खेल जीवन टुंग्याउन सक्थें, मलाई त्यो भन्दा बढी केही चाहिएको पनि थिएन,’ मेसीले पछि भनेका छन् । यी फरवार्ड खेलाडी छिट्टै ३९ वर्षका हुनेछन् । उनमा लोभ जागेको रहेछ, विश्व च्याम्पियनका रूपमा अलिकति बढी खेल्ने । नभन्दै उनले खेल्ने क्रम जारी राखे । खेलेरै सुख महसुस गरिरहेका छन् ।
विश्व फुटबल छाड्नै सकेनन् अनि प्रशिक्षक लियोनल स्कोलानीले उनलाई २६ सदस्यीय टिममा राखिहाले । तीनपल्टको विश्वकप च्याम्पियन अर्जेन्टिनाका लागि मेसी अझैं पनि प्रमुख खेलाडी हुन् । अर्जेन्टिना आफैं सन् १९६२ यता लगातार दुईपल्ट विश्वकप जित्ने टिम हुने उद्देश्यमा पनि छ । गत साता आइसल्यान्डमाथि मैत्रीपूर्ण फुटबलमा ३–० को जित निस्केयता मेसी भन्थे, ‘मलाई फुटबल खेल्दा मज्जा लागिरहेको छ । म खुसी छु र असाध्यै उत्साही पनि छु ।’
बार्सिलोनाका पूर्वस्टार खेलाडीलाई सुरुमा आफूले अहिलेको विश्वकप खेल्नेमै शंका थियो । उनी भन्छन्, ‘मलाई शंका थियो, किनभने अब खेल्दिनँ भनेर अघिल्लो विश्वकपमै भनेको थिएँ । मलाई के पनि लागेको थियो बढ्दो उमेरका कारण अब खेल्न सकिन्न । तर मलाई जति फुटबल खेल्यो, उति मज्जा लाग्न थाल्यो । मलाई फुटबल खेलेपछि त्यसै पनि रमाइलो अनुभव हुन थाल्छ ।’
पक्कै पनि मेसी कम्तीमा अब त्यस्ता खेलाडी रहेनन्, जस्तो कुनै बेला थियो । सन् २०२३ मा उनले युरोप छाडेका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) मा दुई सिजन बिताएयता उनी अमेरिकातिर लागे । इन्टर मियामीका लागि मेजर लिग सकर खेले । त्यसको अर्थ उनले केही आराम पनि पाए । अब उनलाई उत्तिकै माथिल्लो स्तरमा लगातार फुटबल खेल्नु परेको थिएन ।
अमेरिकामै पनि उनी लयमा भने रहे । सन् २०२६ मै १६ खेलमा मेसीले १३ गोल गरेका छन् । उनको त्यही प्रदर्शनका कारण मियामी एमएलएस कप जित्नसफल रह्यो । गत महिना फिलाडेल्फियाविरुद्ध प्राप्त ६–४ को जितमा मेसीलाई फिटनेस समस्या भएको थियो । उनलाई सब्स्टिच्युट पनि गरिएको थियो । तर आइसल्यान्डविरुद्ध २० मिनेटको ‘केमियो’ मा उनले पेनाल्टीबाट एक गोल गर्न पनि भ्याए ।
मेसीले आठपल्ट बालोन डी’अर जितेका छन् । पछिल्लो विश्वकपबाहेक उनले कोपा अमेरिका पनि जिते । सन् २०२४ मा अर्जेन्टिनाले दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्दा उनी नै कप्तान थिए । त्यतिमात्र कहाँ हो र ? दक्षिण अमेरिकी विश्वकप छनोटमा उनी उच्च गोलकर्ता भए । ‘मलाई फुटबल खेल्नुमा माया छ । जति बेलासम्म खेल्न सक्ने छु, खेलिरहने छु ।’
सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा मेसीले पहिलो पटक खेलेका थिए । सन् २०१४ मा फाइनलसम्म अर्जेन्टिनाको यात्रामा उनी कप्तान भइसकेका थिए । त्यतिबेला उपाधि होड अतिरिक्त समयको खेलमा अर्जेन्टिना जर्मनीसँग पराजित भएको थियो । अर्जेन्टिनाका लागि सबैभन्दा बढी गोल गर्ने मेसी आफ्नो देशका लागि दुई सय क्याप जित्ने तेस्रो खेलाडी पनि बन्दैछन्, क्रिस्टियानो रोनाल्डो र कुवेतका बदर अल मुतावापछि ।
यो उपलब्धि मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा हात पार्नेछन् । मेसीको सबैभन्दा ठूला व्यक्तिगत प्रतिद्वन्द्वी रोनाल्डो पनि आफ्नो छैटौं विश्वकप खेल्ने क्रममा छन् । मेसीका साथी जुलियन अल्भारेज भन्छन्, ‘अब त निश्चित छ, यो नै मेसीको अन्तिम विश्वकप हुनेछ । यसबारे अन्तिम निर्णय उनकै हुनेछ । सबैलाई थाहा छ, उनी फुटबलका सर्वकालीन महान् खेलाडी हुन् ।’
