पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका उपाधिका लागि भिड्ने

पाँचपोखरीले सोमबार भएको पहिलो सेमिफाइनलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३३ रनले र हेलम्बुले दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्यो ।

असार १, २०८३

कान्तिपुर संवाददाता

Panchpokhari Cricket Club and Helambu Rural Municipality will compete for the title

What you should know

काठमाडौँ — पाँचपोखरी क्रिकेट क्लब र हेलम्बु गाउँपालिका आठौं पाँचपोखरी टी–२० जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

पाँचपोखरीले सोमबार भएको पहिलो सेमिफाइनलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबलाई ३३ रनले र हेलम्बुले दोस्रो सेमिफाइनलमा मेलम्ची नगरपालिकालाई २७ रनले पराजित गर्यो । 

प्लेयर अफ द म्याच प्रतिक श्रेष्ठले २४ बलमा ४४ रन बनाएपछि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रन बनायो । कप्तान सार्थक धितालले ४१ र बुद्धिमान पाख्रिनले ३३ रन जोडे । पुजन धिताल १० बलमा २६ रन बनाई अविजित रहे । हिमालयनका कप्तान पेम्बा तामाङले ३ विकेट लिए ।

हिमालयन १९ ओभरमा १ सय २४ रनमा अलआउट भयो । कर्मा तामाङले ३४ र पासाङ तामाङले २० रन बनाए । पाँचपोखरीका विजयकुमार धितालले ४ ओभरमा ९ रन मात्र खर्चेर ३ तथा मनोज खड्का र प्रतिकले २–२ विकेट हात पारे ।

दोस्रो सेमिफाइनलमा टस जितेर ब्याटिङ गरेको हेलम्बुले २० ओभरमा २ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । सचिन लेखकले ६४ बलमा १० चौका र ३ छक्कासहित अविजित ९६ रनको उत्कृष्ट इनिङ्स खेले । शिवम तिवारीले १९ बलमा अविजित ३७ रन जोडे । मेलम्ची १९ ओभरमा १ सय ३० रनमा समेटियो । बाबिन बोहराले ४७, अभिषेक चौलागाईंले ३३ र सुवाष खत्रीले २६ रन बनाए । हेलम्बुका शिवमले ४ ओभरमा १९ रन खर्चेर ५ र कप्तान विवेक तामाङले ३ विकेट लिए ।

सचिन लेखक प्लेयर अफ द म्याच घोषित भई नगद १ हजार पाए । पाँचपोखरी क्रिकेट क्लबका पूर्व अध्यक्ष तथा हाल अष्ट्रेलियामा रहेका उत्सव धितालले प्लेयर अफ द म्याच प्रायोजन गरेका छन् । पाँचपोखरी र हेलम्बु बीच फाइनल मंगलबार हुनेछ ।

कान्तिपुर

Link copied successfully