कीर्तिपुर कभर्डहलमा सोमबार सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ तर्फ ट्रेनिङ ग्राउन्डले लुम्बिनी प्रदेशलाई ८४–२३ स्कोरले हरायो ।
What you should know
काठमाडौं — ट्रेनिङ ग्राउन्ड, बुढानीलकण्ठ नगरपालिका, अन्नपूर्ण र आईएसए नेपालले १०औं राष्ट्रिय महिला खुला बास्केटबल च्याम्पियनसिपमा विजय प्राप्त गरेको छन् ।
कीर्तिपुर कभर्डहलमा सोमबार सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ तर्फ ट्रेनिङ ग्राउन्डले लुम्बिनी प्रदेशलाई ८४–२३ स्कोरले हरायो ।
ट्रेनिङ ग्राउन्डले चारै क्वाटरमा अग्रता बनायो । २४–८, २६–६, २२–१, १२–८ को स्कोर गर्दा टोलीकी रोशनी श्रेष्ठ प्लेयर अफ द म्याच प्रदर्शन गरिन् ।
समूह ‘बी’ कै खेलमा बूढानीलकण्ठले प्रतिस्पर्धात्मक ग्रान्डी स्टार्सलाई ५०–३८ ले हरायो । ग्रान्डीले पहिलो क्वाटर १६–१२ र दोस्रो क्वाटर ९–५ ले आफ्नो पक्षमा पार्दा हाफटाइमसम्म २५–१७ को अग्रता बन्यो । तर बुढानीलकण्ठले अन्तिम दुई क्वाटरमा १०–१, २३–१२ को आफ्नो पक्षमा पारेको थियो । राष्ट्रिय टिमकी कप्तानसमेत रहेकी अनुशा मल्ल प्लेयर अफ द म्याच भइन् ।
समूह ‘ए’ मा उपत्यकाबाहिरको दुई टोलीबीचको भिडन्तमा अन्नपूर्ण बास्केटबल एसोसिएसनले सुनसरी बास्केटबल एसोसिएसनलाई ४४–३५ स्कोरले हरायो । खेलमा अन्नपूर्णले क्वाटरमा १०–५, १३–५, ५–१०, १६–१५ को प्रदर्शन गर्यो । अन्नपूर्णकी निविती शर्मा प्लेयर अफ द म्याच घोषित भइन् ।
अर्को प्रतिस्पर्धात्मक खेलमा आईएसए नेपालले लेट्स गो बास्केटबल एकेडेमीलाई ४८–४१ स्कोरले हरायो । पहिलो क्वाटर लेट्स गोले १८–१२ ले आफ्नो पक्षमा पार्यो । दोस्रो क्वाटर आईएसएले ११–६ ले अग्रता बनायो । तेस्रो क्वाटरमा दुवैले १०–१० स्कोर गरे । तेस्रो क्वाटरसम्म लेट्स गो ३४–३३ ले अघि रहे पनि चौथो तथा अन्तिम क्वाटर १५–७ ले पक्षमा पार्दै आईएसएले खेल जितेको हो । आईएसएकी मिली लामा तामाङ प्लेयर अफ द म्याच घोषित भइन् । प्रतियोगिता नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा भइरहेको हो ।
