दाबेदार स्पेनलाई केप भार्डेले रोक्यो

विश्वको तेस्रो सानो राष्ट्रले युरोपियन च्याम्पियन स्पेनलाई कुनै गोल गर्न नदिई बराबरीमा रोकेको हो । यसलाई विश्वकप इतिहासकै अप्रत्याशित नतिजाका रूपमा हेरिएको छ ।

असार २, २०८३

एएफपी

Cape Verde stops contender Spain

एट्लान्टा — पहिलो पटक विश्वकप खेलिरहेको केप भार्डेले पूर्वच्याम्पियन स्पेनलाई गोलरहित बराबरीमा रोकेर ऐतिहासिक नतिजा निकालेको छ ।

अमेरिकाको एटलान्टास्थित ६७ हजार दर्शक क्षमताको एट्लान्टा रंगशालामा अफ्रिकी राष्ट्र केप भार्डेले सोमबार बहादुरी प्रदर्शन गर्दै स्पेनलाई गोलको खडेरीमा राखेको हो ।

विश्वको तेस्रो सानो राष्ट्रले युरोपियन च्याम्पियन स्पेनलाई कुनै गोल गर्न नदिई बराबरीमा रोकेको हो । यसलाई विश्वकप इतिहासकै अप्रत्याशित नतिजाका रूपमा हेरिएको छ । केप भार्डेका ४० वर्षे गोलरक्षक भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै आफ्नो टोलीलाई उत्कृष्ट नतिजा दिलाएका हुन् । 

यसपटकको विश्वकपमा दाबेदार मानिएको स्पेन विङ्गरद्वय लामिन यमल र निको विलियम्स तथा डानी ओल्मोबिनै मैदानमा उत्रिएको थियो । यमल र विलियम्स ह्यामस्टिङ चोटबाट मुक्त हुन नसकेको कारण प्लेयिङ ११ बाट खेलेका थिएनन् । उनहरूको अनुपस्थितिमा स्पेनले राम्रो आक्रमण बुन्न सकेको थिएन । 

दोस्रो हाफमा हाइड्रेसन ब्रेकपछि यमल मैदानमा आएपछि स्पेनको आक्रमणमा तेज ल्याएका थिए, तर केप भार्डेको जब्बर रक्षापंक्तिले उनीहरूको प्रहारलाई निस्तेज पारेको थियो ।

एएफपी

Link copied successfully