एसियाली फेन्सिङमा नेपालका १६ खेलाडीले खेल्ने 

भारतको नयाँ दिल्लीमा १८–२४ जुनसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

असार १, २०८३

कान्तिपुर संवाददाता

16 Nepali athletes to compete in Asian Fencing

काठमाडौँ — एसियाली फेन्सिङ च्याम्पियनसिपमा नेपालका १६ खेलाडीसहित १९ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउने भएको छ ।

भारतको नयाँ दिल्लीमा १८–२४ जुनसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले फोयल र इपी स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् ।

फोयलतर्फ पुरुषमा ज्ञानेन्द्र तिमिल्सिना, अनुप भण्डारी, बुद्धिष्टबहादुर लामा र भुवन मल्लिक तथा महिलामा अनिता अधिकारी, मनीषा श्रेष्ठ, उर्मिला माझी र सोफिया चन्दले प्रतिस्पर्धा गर्नेछन् ।

इपीको पुरुषमा सोयबमान श्रेष्ठ, जंग गिरी, प्रशान्त तामाङ र सुकीराम तामाङ तथा महिलामा अनिता कार्की, माया चौधरी, पूजनकुमारी कुमाल र कृपा गुरुङले खेल्नेछन् ।

मुख्य प्रशिक्षकमा ओमकार सिंह, प्रशिक्षकमा राजेन्द्र गजुरेल र व्यवस्थापकमा अलिसा अधिकारी छन् । सातौं राष्ट्रिय फेन्सिङ प्रतियोगितामा पाएको उपलब्धिका आधारमा खेलाडी छनोट गरिएको महासचिव श्रेष्ठले बताए ।

मंगलबार त्यसतर्फ जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully