नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)को आयोजनामा हुने प्रतियोगिता असार २ देखि ५ सम्म ७२ होलमा हुनेछ ।
What you should know
काठमाडौँ — सूर्य नेपाल गल्फ टुर २०२५/२६ सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबार गोकर्ण गल्फ क्लबमा सुरु हुनेछ ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए)को आयोजनामा हुने प्रतियोगिता असार २ देखि ५ सम्म ७२ होलमा हुनेछ । प्रतियोगिताको पहिलो ३६ होलपछि कट लागू गरिने र शीर्ष १८ प्रोफेसनल र सोही कटमा पर्ने एमेच्योर खेलाडी अन्तिम दुई चरणका लागि छनोट हुने एनपीजीएले जनाएको छ ।
एनपीजीएका महासचिव दीपक आचार्यले प्रतियोगितामा उत्कृष्ट प्रोफेसनल गल्फरले १८ लाख रुपैयाँ पुरस्कार राशिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले ३ लाख २० हजार, उपविजेताले २ लाख ६ हजार पाउनेछन् । तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीले क्रमशः १ लाख ६२ हजार, १ लाख ४५ हजार र १ लाख २८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष १८ भित्र रहने सबै प्रो खेलाडीले नगद पुरस्कार पाउने छन् । १८ औं स्थानमा रहनेले ४० हजार पाउने छन् । तीन वा सोभन्दा कम ह्यान्डीक्यापका एमेच्योर खेलाडी पनि प्रतियोगितामा सहभागी हुनेछन् ।
अन्तिम प्रतियोगिताअघि भुवन नगरकोटी सिजनको पुरस्कार राशी अग्रस्थानमा छन् । उनले चार उपाधिसहित विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ८ लाख २७ हजार ५ सय पुरस्कार राशि जितिसकेका छन् । शीर्ष १० भित्र परेमा उनी नम्बर एक हुने निश्चित हुनेछ । नीरज तामाङ ५ लाखसहित दोस्रो स्थानमा छन् । उनले यस सिजन दुई उपाधि जितेका छन् । दिनेश प्रजापति ४ लाख ८४ हजार ८३३ रुपैयाँसहित तेस्रो स्थानमा रहेका छन्।
प्रतियोगितामा डीपी वर्ल्ड पीजीटीआई टुरमा खेलिरहेका सुवास तामाङको पनि सहभागिता रहनेछ । उनले यस सिजन पीजीटीआईका आठ प्रतियोगिताबाट २६ लाख ६९ हजार ६ सय ८० रुपैयाँ आम्दानी गरेका छन् । अर्का नियमित खेलाडी शुक्रबहादुर राई प्रतिस्पर्धी हुनेछन् ।
एमेच्योरतर्फ नेपालका शीर्ष वरीयताप्राप्त सदभाव आचार्य उत्रने छन् । एनसीएए डिभिजन १ प्रतियोगिताबाट विश्राममा रहेका सद्भावसँगै साविक विजेता राहुल विश्वकर्मा प्रतिस्पर्धामा छन् । अर्का दुई प्रो विष्णु शर्मा र पूर्ण शर्माले पनि प्रतियोगिता खेल्ने तयारीमा छन् ।
‘हेर्दा हेर्दै प्रतियोगिता आठौं संस्करणमा पुगिसकेको छ, विदेशमा खेलिरहेका धेरै खेलाडीहरु यस प्रतियोगितामा खेलिरहेका छन्, यसले प्रतिस्पर्धाका साथै नतिजा पनि रोचक होला भन्ने अनुमान गरेको छु । राम्रो प्रतिस्पर्धा भयो भने स्कोर पनि राम्रो हुन्छ,’ एनपीजीएका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सिजन समापन प्रतियोगितामा अहिलेसम्मकै ठूलो पुरस्कार राशि रहेको बताउँदै खेलाडीहरू उच्च मनोबलसाथ प्रतिस्पर्धा लागि तयारी अवस्थामा रहेको बताए ।
मुख्य प्रतियोगितापछि असार ६ गते प्रो–एम प्रतियोगिता आयोजना हुनेछ । उक्त प्रतियोगितामा २५ प्रोफेसनल गल्फर र १०० कर्पोरेट एमेच्योर खेलाडीको सहभागिता रहनेछ । युवा प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिने प्रो–एम प्रतियोगिता आकर्षक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
