यमबुद्ध पार्कमा नवौं राष्ट्रिय स्केटबोर्ड सुरु, पार्क निर्माणले मन्त्री पोखरेल उत्साहित

मन्त्री पोखरेलले सार्वजनिक जग्गामा यस्ता स्केटबोर्डसहितको खेलस्थल बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको बताए ।

जेष्ठ ३१, २०८३

कान्तिपुर संवाददाता

Ninth National Skateboard Launched at Yamabuddha Park, Minister Pokharel Excited by Park Construction

What you should know

काठमाडौँ — शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यमबुद्ध पार्क महानगरपालिकामा हुँदा आफूहरूले सोचे जस्तो बनेको बताउँदै यसले स्केटिङ तथा स्केटबोर्डिङ खेललाई उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताएका छन् ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको आयोजनामा नवौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको आइतबार उद्घाटन गर्दै मन्त्री पोखरेलले सार्वजनिक जग्गामा यस्ता स्केटबोर्डसहितको खेलस्थल बनाएर खेलको विकास गर्ने अभियानमा सरकार रहेको बताए ।   

काठमाडौं महानगरपालिकाको वडा नम्बर ५ मा हााडीगाउँ पहेँलो पुलनजिक बनेको यमबुद्ध पार्कको निर्माणले आफू उत्साहित भएको मन्त्री पोखरेलको भनाइ थियो । उनले यो पार्कको सदुपयोग गर्न पनि स्थानीयलाई आग्रह गरे ।

प्रतियोगितामा देशका १ सय ५० पुरुष र १ सय महिला खेलाडीको सहभागिता छ । दुईदिने प्रतियोगितामा पहिलो दिन शनिबार छनोट चरणका खेल भएको थियो भने आइतबार दोस्रो दिन उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।

स्केटबोर्डिङको ‘फ्रि स्टाइल’ विधामा प्रतिस्पर्धा भइरहेको छ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘बेस्ट ट्रिक’ र ‘बेस्ट रन’ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताबाट ‘स्केट बोर्डर अफ द इयर’ समेत घोषणा गरिने आयोजकले जनाएको छ ।

पुरुष र महिला सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार र १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जुनियर पुरुष तथा महिला समूहमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने संघका अध्यक्ष अच्युत खनालले बताए । राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाडौंमा आयोजना भइसकेका छन् ।

कान्तिपुर

Link copied successfully