पृतनापति ट्रफीमा १८ बाहिनी अड्डाको दबदबा, ८ पदकसहित च्याम्पियन

पूर्वी पृतना हेडक्वाटर इटहरीमा आयोजित पृतनापति ट्रफीमा १८ बाहिनी अड्डा उदयपुर ४ स्वर्णसहित ८ पदक जित्दै च्याम्पियन बनेको छ।

जेष्ठ ३१, २०८३

अर्जुन सुवेदी

18th Brigade Headquarters dominates Pritanapati Trophy, champions with 8 medals

What you should know

सुनसरी — नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा सम्पन्न ‘पृतनापति ट्रफी'मा नम्बर १८ बाहिनी अड्डा उदयपुर च्याम्पियन बनेको छ । आइतबार इटहरीमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, २ रजत र २ कास्यसहित कुल ८ पदक जित्दै १८ बाहिनी अड्डा च्याम्पियन बनेको हो । 

प्रतियोगितामा नम्बर २ बाहिनी अड्डा हिले धनकुटा दोस्रो बनेको छ ।  नम्बर २१ बाहिनी झापाले तेस्रो स्थानमा चिक्त बुझाएको छ । च्याम्पियन बनेको नम्बर १८ बाहिनीले नगद ५१ हजार पुरस्कार पाएको छ । दोस्रो भएको नम्बर २ बाहिनीले ३५ हजार र तेस्रो बनेको नम्बर २१ बाहिनीले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

विजेता तथा उपव्जिेता टोलीलाई पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसी, सहायक रथी दिवाकरविक्रम शाह, झलेन्द्र भटराई र विमलकुमार बस्नेतले पुरस्कार वितरण गरे । त्यसअघि समापनको अवसरमा भएको भलिबल प्रतियोगिताको फाइनलमा नम्बर २ बाहिनी अन्तर्गतको भगवती दल गण सुनसरीलाई ३–१ को सेटले पराजित गर्दै नम्बर १८ बाहिनी अन्तर्गतको रणभीम गण खोटाङ विजेता बनेको छ ।

रणभीमले पहिलो सेट २५–२०, दोस्रो सेट २५–११ ले जितेको थियो भने तेस्रो सेट २५–२० ले भगवती दलले आफ्नो पक्षमा पारेर पुनरागमनको संकेत दिएको थियो । तर चौथो सेट २५–१२ ले रणभीमको पक्षमा जाँदा उपाधि सुनिश्चित भयो । 

जेठ १८ देखि सुरु भएको पृतनापति ट्रफीमा फुटबल, भलिबल, बास्केटबल, स्वीमिङ, बक्सिङ, जुडो र एथलेटिक्स गरी ८ वटा विधाका खेल समावेश रहेका थिए । ती ८ विधाका खेलमा पूर्वी पृतना हेडक्वाटर अन्तर्गतका ३ वटा बाहिनीका १० गण तथा ४ गुल्मबाट छनौट भएर आएका ८ सय २० पुरुष र १ सय ७६ महिला गरी कुल ९ सय ९६ खेलाडीले प्रतिष्पर्धा गरेका थिए । प्रतियोगिताका उत्कृष्ट टिम तथा खेलाडीहरुले प्रधान सेनापति ट्रफीमा प्रतिष्पर्धा गर्नेछन् । प्रधान सेनापति ट्रफी आगामी भदौमा काठमाडौंमा आयोजना हुने सेनाले जनाएको छ । 

अर्जुन

Link copied successfully