क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबललाई लिएर आफू निकै सकारात्मक रहेको जनाएका छन् । पोर्चुगल टोली विश्वकपका लागि अमेरिकाको फ्लोरिडास्थित पाम बिचमा रहेको बेसक्याम्पमा लिस्बनबाट प्रस्थान गर्नुअघि उनले यस्तो बताएका हुन् ।
What you should know
लिस्बन — क्रिस्टियानो रोनाल्डोले विश्वकप फुटबललाई लिएर आफू निकै सकारात्मक रहेको जनाएका छन् । पोर्चुगल टोली विश्वकपका लागि अमेरिकाको फ्लोरिडास्थित पाम बिचमा रहेको बेसक्याम्पमा लिस्बनबाट प्रस्थान गर्नुअघि उनले यस्तो बताएका हुन् ।
‘ठूलो अपेक्षासहित हामी प्रतियोगिताका लागि अगाडि बढेका छौं,’ पाँच पटकका बालोन डी’अर विजेता रोनाल्डोले भने, ‘हाम्रो तयारी निकै राम्रो भयो, किन भने हामीले निकै मिहिनेत गरेका थियौं । त्यसैले म निकै सकारात्मक छु, मलाई लाग्छ सबै कुरा राम्रैसँग जानेछ र हामीले राम्रो प्रर्दशन दिनेछौं ।’
पोर्चुगलका भेट्रान कप्तान रोनाल्डोले आफू शारीरिक रूपमा पनि राम्रो भएको जनाए । ‘यो धेरै राम्रो पुस्ता हो, जसले पोर्चुगलका जनताका लागि खुसी ल्याउने छ,’ उनले आफ्नो टोलीबारे भने, ‘पहिलो खेलदेखि नै सुरुआत राम्रो हुनु निकै महत्त्वपूर्ण छ । समूहमा शीर्षस्थानमा रहेपछि हामी प्रत्येक खेल सँगै अगाडि बढ्ने छौं ।’
पोर्चुगलले जुन १७ मा ह्युस्टनमा कंगोसँग खेलेर विश्वकप २०२६ को सुरु गर्नेछ । समूह ‘के’ मा रहेको पोर्चुगलले त्यसपछि उज्वेकिस्तान र कोलम्बियासँग खेल्ने छ । ४१ वर्षीय रोनाल्डो व्यक्तिगत छैटौं विश्वकप खेलिरहेका छन् । तर उनकै कारण रोबर्टो मार्टिनेजको बलियो टोलीले खुलेर खेल्न नपाउने चिन्ता पनि पोर्चुगलको टोलीमा देखिएको छ ।
पोर्चुगलले हालै मात्र चिली र नाइजेरियासँग दुई मैत्रीपूर्ण खेलेको थियो । दुवै खेल २–१ को अन्तरले जितेको थियो । तर रोनाल्डो दुवै खेलमा गोल गर्न असफल भएका थिए । पोर्चुगल सन् १९६६ को विश्वकपमा तेस्रो भएको थियो । चार वर्षअघि कतारमा टोलीमा क्वाटरफाइनलसम्म पुगेको थियो ।
