नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) को आयोजनमा शनिबार सम्पन्न प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने । दुवैले ३० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।
What you should know
काठमाडौँ — रोनक उप्रेती र स्वस्तिका चौधरीले नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसन (एनसीएसए) को आयोजनमा शनिबार सम्पन्न प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने । दुवैले ३० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरे ।
पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र शुलभ राई तेस्रो भए । महिलातर्फ मनीषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भए । दोस्रोले समान २० हजार र तेस्रोले समान १० हजार प्राप्त गरे ।
महिला र पुरुष दुवैमा शीर्ष तीन हात पार्ने खेलाडीलाई गेयर पार्टनर पेलियट नेपालले करिब एक लाखबराबरको खेल सामग्री प्रदान गरेको छ ।
काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषतर्फ क्वालिफिकेसन राउन्डबाट अन्तिम चरणमा ८ खेलाडी छनोट भए । छनोट ८ खेलाडीको प्रतिस्पर्धाबाट विजेता टुंगो लागेको हो ।
गत वर्ष एनसीएसएले ६ वर्षपछि नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसलाई यस वर्ष निरन्तरा दिँदै बोल्डरिङ विधाको नेसनल च्याम्पियनसिप आयोजना गरेको संघले जनाएको छ ।
एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिए ।
नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिपमा यस वर्ष खेलाडीको संख्या बढेको र आगामी दिनमा नयाँ खेलाडीका लागि राष्ट्रिय च्याम्पियनसिप खेल्न समेत अवसर हुने उनले बताए ।
विजेता खेलाडीलाई नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रामजीबहादुर श्रेष्ठ, एनसीएसएका अध्यक्ष रमेश पौडेललगायतले पुरस्कृत गरेका थिए ।
नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छनोट हुने महिला र पुरुष १–१ खेलाडीलाई ब्ल्याक डायमन्डले गेयर स्पोन्सर गर्ने घोषणा गरेको हो ।
