अशोकले जी–फोर ओसियाना ओपन, जी–थ्री डब्लूटी प्रेसिडेन्ट कप र जी–टु अस्ट्रेलियन ओपन खेलाउने भएका छन् ।
काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्काले वर्ल्ड र्याङकिङका चार तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
अशोकले जी–फोर ओसियाना ओपन, जी–थ्री डब्लूटी प्रेसिडेन्ट कप र जी–टु अस्ट्रेलियन ओपन खेलाउने भएका छन् । उनले सुरुमा अस्ट्रेलियाको गोल्डकोस्टमा हुने जी–टु तेक्वान्दो प्रतियोगिता खेलाउने छन् ।
प्रतियोगिता सञ्चालनका लागि शनिबार अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियन तेक्वान्दो र ओसियाना तेक्वान्दोको आयोजनामा हुने सो प्रतियोगिता १८ देखि २२ जुनसम्म चल्नेछ । उनले अस्ट्रेलियन ओपनमा निर्णायकको भूमिका निर्वाह गर्न लागेको यो चौथो पटक हो । यसअघि उनले सन् २०१९, २०२४ र २०२५ मा पनि अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा अस्ट्रेलियन ओपन खेलाएका थिए ।
उनी नेपालका ग्योरोगी र पुम्स दुवै विधाका दोस्रो श्रेणीका अन्तर्राष्ट्रिय निर्णायक हुन् । उनले पारामा रेफ्रीको भूमिका निर्वाह गर्दै आएका छन् । ५० भन्दा बढी विश्व वरीयताका तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका अशोक नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष समेत हुन् ।
