१९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि शनिबार राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा छनोट प्रतियोगिता भएको थियो ।
काठमाडौँ — जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट गरिएको छ ।
१९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने एसियाडका लागि शनिबार राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा छनोट प्रतियोगिता भएको थियो ।
अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुईदिने छनोट प्रतियोगिताबाट ३–३ पुरुष/महिला खेलाडी छनोट गरिएको संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
पुरुषमा संयोग कपाली प्रथम, रुविन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय भएर छनोट भए । महिलामा नविता श्रेष्ठ पहिलो, इभाना थापा दोस्रो र योङ्गी पौडेल तेस्रो हुँदै जापानका लागि छानिए ।
छनोट प्रतियोगितामा जेठमा सम्पन्न ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा पुरुष/महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
समापनमा राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य तथा पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी सिक्का सुवाल श्रेष्ठलाई अखिल नेपाल टेबलटेनिस संघले बधाई ज्ञापन गर्दै सम्मान गरेको थियो । उनी दुई दिनअघि मात्र बोर्ड सदस्यमा निर्वाचित भएकी हुन् ।
