फाइनल कार्यक्रमअन्तर्गत युवा खेलाडीहरू, चर्चित खेल सेलिब्रिटी तथा अमेरिकी दूतावासका कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल पनि आयोजना गरिएको थियो।
What you should know
ललितपुर — नेपालस्थित अमेरिकी दूतावासले अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव तथा फिफा विश्वकपको उत्साह मनाउने उद्देश्यसहित शुक्रबार काठमान्डौंमा ‘गोल यूएसए २०२६’ आयोजना गरेको छ ।
कार्यक्रममा नेपालभरका उत्कृष्ट युवा फुटबल खेलाडीहरूको सहभागिता थियो । ‘गोल ! यूएसए २०२६’ कार्यक्रमअन्तर्गत विराटनगर, सुर्खेत, भैरहवा र पोखरामा फुटबल सीप चुनौती प्रतियोगिता सञ्चालन गरिएको थियो, जसमा सयौं युवा खेलाडीहरू सहभागी भएका थिए ।
प्रतियोगितामार्फत उनीहरूलाई टोली भावना तथा नेतृत्व विकासका अवसर प्रदान गरिएको थियो । विभिन्न शहरबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू काठमाडौंमा आयोजित राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्न पुगेका थिए । फाइनल कार्यक्रमअन्तर्गत युवा खेलाडीहरू, चर्चित खेल सेलिब्रिटी तथा अमेरिकी दूतावासका कर्मचारीहरूबीच मैत्रीपूर्ण फुटबल खेल पनि आयोजना गरिएको थियो।
यो कार्यक्रम अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सव मनाउने ‘फ्रिडम २५०’ अभियानको एउटा हिस्सा हो। साथै, संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने फिफा विश्वकप २०२६ प्रति बढ्दो उत्साहलाई पनि यसले प्रतिबिम्बित गरेको थियो ।
खेल सुरु हुनुअघि नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोम ले भने, ‘गोल! यूएसए ले संयुक्त राज्य अमेरिका र नेपालबीचको दीर्घकालीन मित्रतालाई झल्काउँछ। अमेरिका फिफा विश्वकप २०२६ को आयोजना गर्ने तयारीमा रहँदा नेपालका युवाहरूसँग त्यो उत्साह बाँड्न र दुई समुदायबीचको सम्बन्ध अझ नजिक बनाउन पाउँदा हामी गर्व महसुस गर्छौं।’
प्रतियोगिताले खेलकुद समुदायलाई जोड्ने, युवा नेतृत्वलाई प्रेरित गर्ने तथा साझेदारीलाई सुदृढ बनाउने महत्वपूर्ण माध्यमका रूपमा भूमिका प्रदर्शन गरेको दूतावासले जनाएको छ ।
