पृतनापति ट्रफीको उपाधि श्री नम्बर ४ बाहिनी अड्डालाई

कालीबहादुर गण सर्वोत्कृष्ट गण घोषित भएको छ ।

जेष्ठ २९, २०८३

ज्योति कटुवाल

Pritanapati Trophy title awarded to Shri No. 4 Bahini Adda

सुर्खेत — नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटद्वारा आयोजित ‘पृतनापति ट्रफी–२०८३’ को उपाधि श्री नम्बर ४ बाहिनी अड्डाले जितेको छ । २० देखि २९ जेठसम्म सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्दै श्री नम्बर ४ बाहिनी अड्डा विजेता बनेको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स, तेक्वान्दो, जुडो, बक्सिङ र स्विमिङ गरी आठ विधामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा भलिबल तथा बास्केटबलतर्फ श्री कालीबहादुर गण विजेता बनेको छ भने फुटबलमा श्री बज्रदल गणले उपाधि हात पारेको छ । सम्पूर्ण प्रतियोगितामा कालीबहादुर गण सर्वोत्कृष्ट गण घोषित भएको पश्चिम पृतनाका पृतनापति उपरथी दिपेशजंग शाहले बताए । उत्कृष्ट खेलाडी तथा अफिसियलहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । प्रतियोगिताले सैनिक संगठनभित्र अनुशासन, एकता र प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको पृतनाका पृतनापति शाहले बताए । प्रतियोगिताबाट छनोट भएका खेलाडी तथा टोलीले आगामी ‘प्रधान सेनापति ट्रफी–२०८३’ मा सहभागिता जनाउन पाउने छन् । नेपाली सेनाले खेलकुदलाई सैनिक अनुशासन, नेतृत्व विकास, शारीरिक क्षमता अभिवृद्धि र संगठनात्मक सुदृढीकरणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउँदै आएको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि सरद लामिछानेले बताए ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully