कीर्तिपुर र आर्मी फाइनलमा भिड्ने

आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको महिलामा बूढानीलकण्ठ फाइनलमा पुग्यो ।

जेष्ठ २९, २०८३

कान्तिपुर संवाददाता

Kirtipur and Army to face each other in the final

काठमाडौँ — आईआईएमएस कीर्तिपुर र डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ शुक्रबार फाइनल पुगेका छन् ।

कीर्तिपुरले इन्जिनिएरिङलाई ७१–५६ स्कोरले पराजित गर्‍यो । कीर्तिपुरका अनिल खड्गीले १७ स्कोर गरे । सयुन राईको २७ स्कोरमा आर्मीले बूढानीलकण्ठलाई ६६–५७ ले हरायो ।

आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको महिलामा बूढानीलकण्ठ फाइनलमा पुग्यो । उर्जा राना मगरको २७ स्कोरमा बूढानीलण्ठले ट्रेनिङ ग्राउन्डलाई ५५–४७ ले हरायो । उपाधिका लागि बूढानीलकण्ठले ग्रान्डी स्टार्ससँग खेल्ने छ । अघिल्लो दिन बिहीबार ग्रान्डीले बलर्सलाई ६१–२२ ले हराएर फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल शनिबार हुनेछ ।

ललितपुर महानगरपालिका वडा १४ को मुख्य प्रायोजन र नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगिताको पुरुषमा विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलातर्फ विजेताले ५० हजार र दोस्रोले २५ हजार रुपैयाँ पुरस्कार हात पार्ने छन् ।

पुरुषतर्फ ‘मोस्ट भेलुएबल प्लेयर’ ले २० हजार र महिलाले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।  

कान्तिपुर

Link copied successfully