फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री लम्सालको स्थलगत भ्रमणले फाप्ला निर्माण कार्यलाई थप ऊर्जा, गति र आम जनतामा नयाँ विश्वास प्रदान गरेको बताए ।
धनगढी — पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कैलाली धनगढीस्थित फाप्लामा फ्लड लाइटसहितको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र मल्टिपर्पोज इन्डोर हल निर्माण गरिने बताएका छन् ।
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको शुक्रबार स्थलगत अनुगमन तथा निरीक्षण गर्दै मन्त्री लम्सालले उक्त संरचना निर्माणका लागि बजेट विनियोजन भइसकेकाले अब निर्माण अघि बढाइने बताए ।
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा फाप्लालाई ठेक्का प्रक्रियामा लैजानका लागि बजेट विनियोजन गरेको छ । 'आगामी आवमा टेन्डर आह्वान गरेर यसको निर्माण कार्य अघि बढाइने छ,' उनले भने । राष्ट्रिय गौरव र सुदूरपश्चिमको समृद्धिसँग जोडिएको आयोजनालाई समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री लम्सालले बताए ।
फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले मन्त्री लम्सालको स्थलगत भ्रमणले फाप्ला निर्माण कार्यलाई थप ऊर्जा, गति र आम जनतामा नयाँ विश्वास प्रदान गरेको बताए । 'सुदूरपश्चिम प्रदेशवासीको वर्षौंदेखिको ठूलो सपनाको एउटा चरण पूरा भएको छ, अब यसको निर्माणले गति लिन्छ भन्नेमा हामी विश्वस्त छौं,' अध्यक्ष शाहीले भने ।
धनगढी उपमहानगरपालिका–३ फप्लामा करिब दुई लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाका प्रारम्भिक तयारी पूरा भइसकेको छ । आयोजनाका लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको अध्यक्ष शाहीले बताए ।
