चितवनले अमरसिंह रौटेला, गौतम केसी, विपिन रावल, विपिन आचार्य र सौगत ढकाललाई रिलिज गरेको छ ।
काठमाडौं — चितवन राइनोजले आउँदो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि मार्की कुशल मल्लसहित कुल ७ खेलाडीलाई ‘रिटेन’ गरेको छ । पहिलो सिजनको एनपीएलमा चौथो भएको चितवनले दोस्रो सिजनमा भने ७ खेलमा २ मा मात्र विजय हात पार्न सकेको थियो ।
चितनव राइनोजले कुशलसहित रिजन ढकाल, कमलसिंह ऐरी, देव खनाल, अर्जुन साउद, दीपक बोहरा र रन्जीत कुमारलाई रिटेन गरेको शुक्रबार जनाएको छ । चितवनले अमरसिंह रौटेला, गौतम केसी, विपिन रावल, विपिन आचार्य र सौगत ढकाललाई रिलिज गरेको छ ।
गत सिजनमा चितवनबाट इंग्लिस खेलाडीहरू रवि बोपारा, डेबिड मलान, सैफ जैब, जर्ज स्क्रिमसव, पाकिस्तानका सोहेल तान्भिर, युगान्डाका अल्पेस रामजानीलाई खेलाएको थियो ।
‘यी खेलाडीहरूले अघिल्लो सिजनमा टोलीको प्रदर्शन र विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए । राष्ट्रिय टोलीको अनुभव, घरेलु क्रिकेटमा स्थापित प्रदर्शन तथा युवा प्रतिभाको उत्कृष्ट संयोजन रहेको यस समूहलाई अगामी सिजनको टोली निर्माणको मुख्य आधारको रुपमा हेरिएको छ,’ चितवनले ‘रिटेन’ गरेको खेलाडीहरुको बारेमा विज्ञप्तिमार्फत भनेको छ ।
