मेक्सिकोमा विश्वकप त्यतिबेला आएको छ, जतिबेला राष्ट्रपति क्लाउडियो सेनबउम राजनीतिक संकटमा छन् । पछिल्लो समय अमेरिकासँगको सम्बन्ध नाजुक मोडमा छ ।
What you should know
मेक्सिको सिटी — मेक्सिकोले विश्वकप २०२६ लाई स्वागत गर्न लागेकै बेला सामाजिक कलह सुरु भएको छ । अमेरिका र क्यानडासँग संयुक्त रूपमा विश्वकप आयोजना गर्दै गरेको मेक्सिकोले बिहीबार उद्घाटन खेलमा दक्षिण अफ्रिकाको आतिथ्यता गर्दै छ । त्यसअघि स्टारहरूको बाहुल्य रहेको कार्यक्रम प्रस्तुत गरिनेछ । विश्वास गरिएको छ, यसले प्रतियेगितालाई गति दिनेछ ।
मेक्सिकोमा विश्वकप त्यतिबेला आएको छ, जतिबेला राष्ट्रपति क्लाउडियो सेनबउम राजनीतिक संकटमा छन् । पछिल्लो समय अमेरिकासँगको सम्बन्ध नाजुक मोडमा छ । उनी आफैं विभिन्न राजनीतिक काण्डबाट गुज्रिइरहेका छन् । त्यतिमात्र होइन, फेब्रुअरीमा मात्रै मेक्सिेको सिटी आफैं चर्को हिंसामा डुबेको थियो । सहरमा पाहुनाहरूको आगमन बढेसँगै तनाव पनि उत्तिकै चर्किरहेको छ ।
स्थानीय जनताले लगाएको सबैभन्दा ठूलो आरोप हो, सरकारको ध्यान प्रतियोगिताको आयोजनामै बढी छ, तर त्यही सरकारले आम जनताको आधारभूत आवश्यकता भने पूर्ति गर्न सकिरहेको छैन । मेक्सिकन सेन्टर फर रिसर्च एन्ड इकोनोमिक एजुकेसनका राजनीतिक विश्लेषक कार्लोस पेरेभ भन्छन्, ‘मेक्सिकोले बाँकी विश्वसामु त्यस्तो छवि प्रस्तुत गर्ने प्रयास गरिहेको छ, जुन वास्तवममा अस्तित्वमा छैन ।’
उनी थप्छन्, ‘यो विश्वकपले राष्ट्रपति अझ दबाबमा पर्नेछन् । वास्तवमै मेक्सिकोको सरकार अहिले चर्को दबाबमा छ ।’ मेक्सिको सिटीसँगै ग्वाडालाजारा र मोन्टेरी गरेर तीन सहरले विश्वकपका खेल आयाजना गर्नेछन् । ती तीनै सहरका सडक–सडकमा अहिले फिफाको लोगो, सुन्तला रंगको गोदावरी फुल र ठूल्ठुला बल जताततै सजाइएको देख्न सकिन्छ । फुटबल समर्थकले भने अहिले विश्वकपको माहोल अनुभव गरिरहेका छन् ।
समर्थकहरू आफ्नो देशको जर्सी लगाएर सहरका प्रमुखस्थल घुमिरहेका छन् र एकपछि अर्को तस्बिर लिइरहेका छन् । यो विश्वकपले होटल, रेस्टुरेन्ट र खेलस्थलको प्रयोगसँगै तीन अर्ब डलर भित्रिने मेक्सिको फुटबल संघको अनुमान छ । मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल मात्र होइन, उद्घाटन कार्यक्रमको सबैभन्दा प्रमुख आकर्षण त कोलम्बियाली सुपर स्टार सकिरा हुनेछिन् । उनले त्यस अवसरमा आफ्नो प्रस्तुति दिनेछन् ।
‘अपेक्षाअनुसार सबथोक सामान्य रूपमा अगाडि बढ्छ भने त्यो सुनमा सुगन्धजस्तै हुनेछ,’ पेरेज रिकार्ट मान्छन् । उनका अनुसार यो विश्वकप बाँकी विश्वकपका लागि आधुनिक मेक्सिको कस्तो छ भनेर देखाउने अवसर पनि हो । तर पछिल्लो समय आम जनता भने सडकमा ओर्लेर प्रदर्शन गरिरहेका छन् र यो हिंसात्मक पनि हुन थालेको छ । विशेषतः ग्वाडालाराजामा फेब्रुअरीमा चर्को प्रदर्शन भएको थियो ।
त्यस्तै प्रदर्शनलाई निस्तेज पार्न एक लाख सैनिकदेखि सुरक्षाकर्मी सडकमा उत्रने छन् । तीनै सहरमा तिनको काम शान्तिसुरक्षा कायम राख्ने हुनेछ । आलोचकले लगाएको प्रमुख आरोप त्यही रहेको छ, विश्वकपका लागि सरकारले गरेको अत्यधिक खर्च र समय । पछिल्ला केही साता शिक्षक युनियनले सडकमा ओर्लिएर प्रदर्शन गरिरहेको छ र तिनीहरूको माग आफूहरूको काम गर्ने स्थितिमा सुधार रहेको छ ।
मेक्सिकोमा बेपत्ता पारिएका १ लाख ३० हजारको परिवारले आफ्नो देशमा मानवअधिकारको स्थिति असाध्यै कमजोर रहेको बताउँदै आएका छन् । यस्तै एक प्रदर्शनकारी लुइस एन्टोनिया भन्छन्, ‘हामी पक्कै पनि फुटबल र विश्वकपका विरोधी होइनौं । तर हाम्रो माग हो, सरकारले शिक्षामा जति लगानी गर्नुपर्ने हो, त्यो गरिरहेको छैन । तर पूरा ध्यान सहरलाई झकिझकाउ गर्नेमै केन्द्रित छ ।’
