राखेप उपाध्यक्ष श्रेष्ठद्वारा पदबहाली

नेपाल सरकारले उनलाई बुधबार राखेप उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।

जेष्ठ २८, २०८३

कान्तिपुर संवाददाता

NSC Vice President Shrestha assumes office

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा नियुक्त विशाल श्रेष्ठले बिहीबार पदबहाली गरेका छन् ।

विशाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक हुन् । उनले केही समयअघि राष्ट्रिय टोलीबाट संन्यास लिएका थिए ।

नेपाल सरकारले उनलाई बुधबार राखेप उपाध्यक्ष पदमा नियुक्त गरेको थियो । पदबहाली गर्दै उपाध्यक्ष श्रेष्ठले खेल मैदानबाट व्यवस्थापकीय जिम्मेवारीमा आएकाले सबैको साथ र सहकार्यमा नेपाली खेलकुदको विकासमा योगदान गर्न सकिने विश्वास जनाएका थिए ।

राखेप बोर्डमा उपाध्यक्षसहित नवनियुक्त सदस्य बुद्धिचालकी मोनालिशा खम्बू, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ, क्रिकेटका शक्तिप्रसाद गौचन र फुटबलका पवन शाहीलाई पनि स्वागत गरिएको थियो । उनीहरूलाई परिषद्का सदस्यसचिव रामचरित्र मेहताले खेलकुदको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए ।

स्वागत कार्यक्रममा नवनियुक्त पदाधिकारीलाई शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि ब्यञ्जनकारले बधाई ज्ञापन गरेका थिए ।

कान्तिपुर

Link copied successfully