कपिलवस्तु जिल्ला क्रिकेट संघमा गैरे

नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अधिवेशनको उद्घाटन गर्दै खेल पूर्वाधार नभई खेलाडीलाई टिकाउन नसकिने हुँदा क्रिकेटसहितको खेलको विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताए ।

जेष्ठ २७, २०८३

मनोज पौडेल

No change in Kapilvastu District Cricket Association

कपिलवस्तु — कपिलवस्तु जिल्ला क्रिकेट संघको चौथो जिल्ला अधिवेशनले प्रकाश गैरेको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरेको छ । 

मंगलबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः विश्वेन्द्रसिंह रावल, अजय शर्मा र पदमराज श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा दिनेश हमाल, राजेशप्रताप शाक्य, माया ज्ञवाली, चन्द्रकान्त शर्मा र ऋषिकेश श्रेष्ठ चयन भएको निर्वाचन समिति संयोजक अधिवक्ता अमित श्रीवास्तवले बताए । समितिका पदाधिकारीलाई क्रिकेट संघ लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष विनयराज भण्डारीको उपस्थितिमा निर्वाचन समिति संयोजक श्रीवास्तवले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

यसअघि नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले अधिवेशनको उद्घाटन गर्दै खेल पूर्वाधार नभई खेलाडीलाई टिकाउन नसकिने हुँदा क्रिकेटसहितको खेलको विकासका लागि पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका थिए । 

विगतमा अन्तर्राष्ट्रिय स्तरमै खेल्ने प्रतिभावान क्रिकेट खेलाडी जिल्लाले उत्पादन गरेको स्मरण गराउँदै पछिल्लो समय जिल्लाबाट महिला क्रिकेटमा राष्ट्रियस्तरमा सहभागिता जनाउन टोली तयार पारिएको अध्यक्ष गैरेले जनाए । उक्त अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलसहित विभिन्न वडाका वडाध्यक्षलाई कपिलवस्तु क्रिकेट संघले आयोजना गर्दै आएको स्मृति कपमा सहयोग गरेकामा सम्मान–पत्र प्रदान गरिएको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully