नेपाली एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार थाइल्यान्डले नेपाललाई ५६ रनले पराजित गर्यो ।
What you should know
काठमाडौँ —
नेपाली एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । मलेसियामा भइरहेको प्रतियोगितामा बुधबार थाइल्यान्डले नेपाललाई ५६ रनले पराजित गर्यो । थाइल्यान्डले क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ३० रन बनाएको थियो ।
जवाफमा आएको नेपालले ७ विकेट गुमाई ७४ रनमात्र बनाउन सक्यो । नेपालले २०११ यता थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । थाइल्यान्डसँगको हार नेपाली महिला क्रिकेट टोलीको असफलताको पछिल्लो शृंखला हो । नेपालले यस प्रतियोगिताको समूहचरणमा कतारलाई ८ विकेटले र भुटानलाई ५१ रनले पराजित गरेको थियो । तर हङकङसँगै समूहचरणको अन्तिम खेलमा ६९ रनको हार बेहोरेपछि नेपाली टोली प्रवल दाबेदार थाइल्यान्डसँग क्वार्टरफाइनलमा खेल्न बाध्य भएको हो ।
हङकङसँगको सो खेलमा नेपाल केवल ४० रनमा अलआउट भएको थियो, जुन नेपालको महिला ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा न्युन स्कोर पनि हो । प्रिमियर कपम सुरु हुनु ठिकअघि सम्पन्न एसियन गेम्स महिला छनोटमा शीर्ष चारमा पर्न नसकेपछि नेपाल एसियन गेम्समा पुग्न पनि असफल भएको थियो । सेमिफाइनलमा मलेसियासँग चुकेको नेपाललाई एसियन गेम्सको छनोटको तेस्रो स्थानको प्ले अफ खेलमा चीनले पनि पराजित गरेको थियो । चीनसँग नेपालको त्यो पहिलो हार थियो ।
मलेसिया भ्रमणमा कमजोर प्रर्दशन गर्दै आएको नेपालविरुद्ध बुधबार विकेटकिपर नानापात खोन्चारोइन्काईले अविजित ६२ रन बनाएपछि थाइल्यान्डले राम्रो स्कोर बनाएको थियो । उनले ५१ बल खेली ६ चौका प्रहार गरिन् । त्यस्तै फनिता मायाले २१ बलमा २ चौकासहित २६ र चनिदा सुथिरुएङले २७ बलमा १ चौकासहित १६ रन बनाइन् । नेपालबाट रुविना क्षेत्रीले ४ ओभरमा ११, रिया शर्माले ४ ओभरमा २८ र कविता कुँवरले ४ ओभरमा ३१ रन खर्चेर १–१ विकेट लिइन् ।
नेपालले ब्याटिङमा अघिल्ला खेलहरु जस्तै खराब सुरुआत गरेको थियो । रुबि पोदार दोस्रो ओभरमै शून्यमा आउट भइन् । तेस्रो ओभरमा अर्की ओपनर सम्झना खड्का ११ बल खेली २ चौका प्रहार गरी ११ रनमा आउट भइन् । उपकप्तान पुजा महतो २ र कप्तान इन्दु बर्मा ७ रनमै आउट भइन् ।
नेपालबाट दोहोरो स्कोरमा बनाउने दोस्रो खेलाडी थिइन्, सोनी पाख्रिन । उनले २१ बल खेली २ चौका प्रहार गरी १५ रन बनाइन् । कविता कुँवर १, कविता जोशी ४, रुबिना ६ र सीता ३ रनमा अविजित रहिन् । थाइल्यान्डबाट थिपात्चा, पुथावोङ, सुनिदा चतुरोङ्ग्राताना र सुलिपोर्न लाओमीले २–२ विकेट लिए ।
