काठमाडौं महानगरले क्रिकेट र ब्याडमिन्टनका दुई ठूला प्रतियोगिता गर्ने

काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३ र पीएल सिंह अन्तर महानगरपालिका ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको हो ।

जेष्ठ २७, २०८३

कान्तिपुर संवाददाता

Kathmandu Metropolitan City to host two major cricket and badminton tournaments

What you should know

काठमाडौँ — काठमाडौं महानगरपालिकाको सहयोगमा क्रिकेट र ब्याडमिन्टनका दुई ठूला खेलकुद प्रतियोगिता हुने भएको छ ।

काठमाडौं महानगर कप वडास्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३ र पीएल सिंह अन्तर महानगरपालिका ट्वान्टी–२० कप क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । दुवै प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

काठमाडौंका ३२ वडाका खेलाडीबीच १२ देखि १४ असारसम्म काठमाडौं–१५ डल्लूस्थित एनओसी भूकम्प स्मृति कभर्डहलमा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं महानगरपालिका र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा हुने प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने छ । काठमाडौंको हालसम्मकै सबैभन्दा ठूलो सामुदायिक ब्याडमिन्टन प्रतियोगिताको रूपमा परिकल्पना गरिएको र काठमाडौं महानगरका ३२ वडाका खेलाडीलाई एकै थलोमा एकत्रित गर्ने उद्देश्य राखिएको काठमाडौं ब्याडमिन्टनका अध्यक्ष दीपक थापाले बताए ।

प्रतियोगिताको कुल बजेट ३६ लाख रहेको छ, त्यसमा ३० लाख काठमाडौं महानगरपालिकाले तथा ६ लाख काठमाडौं जिल्ला ब्याडमिन्टन संघले व्यहोर्ने भएको ।

आधारभूत तहबाट प्रतिभा पहिचान तथा विकास, वडा प्रतिनिधित्वमार्फत सामुदायिक सहभागिता अभिवृद्धि,  महिला तथा पुरुषको समान सहभागिताको सुनिश्चितता र सक्रिय तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा खेलमार्फत सामाजिक सद्भाव तथा एकताको सुदृढीकरण रहेको महानगरको सामाजिक विकास विभागका संयोजक रामकुमार केसीले बताए ।

तीन खुला विधाका प्रतिस्पर्धा हुनेछ । प्रत्येक वडाले २ पुरुष र २ जना महिला खेलाडी छनोट गर्नेछन् । पुरुष एकल र महिला एकल १–१ खेलाडी तथा मिश्रित युगलमा १ पुरुष र १ महिला खेलाडीको सहभागिता रहनेछ । प्रत्येक खेलाडीले एक विधामा मात्र सहभागिता जनाउन पाउनेछन् । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

पुरुष तथा महिला एकल विजेताले ३२ हजार, दोस्रोले २० हजार तथो तेस्रो हुनेले १० हजार तथा पाँचौंदेखि आठौं हुनेले २ हजार ५०० सय पाउनेछन् ।

मिश्रित युगल विजेताले ४० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १६ हजार पाउनेछन् ।

मेयर्स कप विजेताले ११ लाख पाउने

त्यस्तै बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापन र प्राविधिक सहयोगमा यही ४–१३ असारसम्म पीएल सिंह अन्तर महानगरपालिका कप (मेयर्स कप) क्रिकेट प्रतियोगिता हुनेछ ।

नेपाली क्रिकेटको दिगो विकास, आन्तरिक खेल प्रतिभाको प्रवर्द्धन तथा महानगरपालिकाबीच आपसी सद्भाव र खेलकुद संस्कृतिको विस्तार गर्ने उद्देश्यका साथ हुने प्रतियोगितामा देशभरका ६ महानगरपालिका काठमाडौं, ललितपुर, भरतपुर, वीरगन्ज, विराटनगर र पोखराका टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता विजेता टोलीले ११ लाख र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यो घरेलु क्रिकेटमा ठूलो पुरस्कार राशिको प्रतियोगिता हो । यसअघि प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता जित्ने टिमले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्दै आएको थियो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने प्रतियोगिताका विधागत विजेताले पनि पुरस्कार पाउनेछन् । प्लेयर अफ द टुर्नामेन्ट, बेस्ट बलर, बेस्ट ब्याटर र इमर्जिङ प्लेयर अवार्डका खेलाडीलाई पुरस्कृत गरिने बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष पारस खड्काले बताए ।

कान्तिपुर

Link copied successfully