मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित फाइनलमा डीएभीले नेपाल पुलिस स्कुललाई ७ विकेटले हरायो । डकवर्थ लुइस प्रद्धतिका आधारमा डीएभीले जित पाएको हो ।
What you should know
काठमाडौं — डीएभी स्कुलले लगातार दोस्रो पटक एसियन ई–लर्निङ जयकुमारनाथ शाह स्मृति अन्तरस्कुल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
मूलपानी क्रिकेट मैदानमा वर्षाले प्रभावित फाइनलमा डीएभीले नेपाल पुलिस स्कुललाई ७ विकेटले हरायो । डकवर्थ लुइस प्रद्धतिका आधारमा डीएभीले जित पाएको हो ।
डीएभीले १ लाख ५० हजार र उपविजेता पुलिस स्कुलले ७५ हजार रुपैयाँ पुरस्कार पाए । १०२ रनको लक्ष्य पाएको डीएभीले ४.१ ओभरमा २ विकेट गुमाई १७ रन बनाएको अवस्थामा बुधबार वर्षा भएर स्थगित भएको थियो । त्यसपछि बुधबार खेल १२ ओभरमा झार्दै डकवर्थ लुइस प्रद्धतिअनुसार डीएभीलाई ७० रनको लक्ष्य दिइएको थियो । डीएभीले १०.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । डीएभीको जितमा आरुष झाले ३० बलमा ३ चौकासहित अविजित २६ रन बनाए । विराज जैसवालले २२ र प्रसिद्ध जैसीले ६ रन बनाए । सत्यम बस्नेत २ रनमा आउट हुँदा कमल शाही ३ रनमा अविजित रहे । कमल शाही ‘पिक प्वाइन्ट प्लेयर अफ द म्याच’ घोषित भए ।
पुलिस स्कुलका प्रियांशुकिशोर राउत र सुनिल ठाकुरले१–१ विकेट लिए ।
त्यसअघि मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस स्कुलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो ।
काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा २४ टोलीको सहभागिता थियो ।
प्रतियोगितामा उदयीमान खेलाडी जेम्स स्कुलका स्वराज चौलागाईं चुनिए । उनले प्रतियोगिताभर १०३ रन बनाउनुका साथै १२ विकेट लिएका थिए । उनले ५ हजार रुपैयाँसहित लकर रुमको तर्फबाट विशेष उपहार प्राप्त गरे ।
सैनिक आमाविका राजदीप आचार्य उत्कृष्ट ब्याटर भए । उनले ४ खेलमा २३९ रन बनाएका थिए । ५ हजारसहित ‘लकर रुम’बाट ब्याट र ‘डार्क फेन्टासी’बाट विशेष उपहार प्राप्त गरे । डीएभीका कुञ्जन आचार्य १३ विकेटसहित उत्कृष्ट बलर घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी डीएभीका प्रसिद्ध जैसी चुनिए । उनले २७३ रन बनाउनुका साथै ७ विकेट लिए । उनले १० हजार रुपैयाँसहित किट ब्याग प्राप्त गरे ।
विजेता टिम तथा खेलाडीलाई मुख्य प्रायोजक एसियन ई–लर्निङ प्रालिकी निर्देशक मीना लिम्बू, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, ई–सेवाका ब्रान्ड अफिसर विमोम डंगोल, आयोजक संघका अध्यक्ष दिवाकर घलेलगायतले पुरस्कृत गरे ।
